बागमतीमा बने १९ पक्की पुल, करिब २ सय किमी सडक कालोपत्रे

द्वारा प्रकाशित गरिएको हो |
२०७७ असार ३०, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट
फाईल तस्विर

बागमती प्रदेशभर निर्माणाधीन १९ वटा पक्की पुलको निर्माण कार्य लकडाउनको अवधिमा पूरा भएको छ ।

यातायात पूर्वाधार निर्देशनालय, हेटौंडाका अनुसार चालू आर्थिक वर्ष २०७६/७७ मा निर्माणाधीन अवस्थामा रहेको ९० वटामध्ये १९ वटा पक्की पुलको काम सकिएको हो । बाँकी ७१ वटाको काम भने जारी रहेको छ ।

निर्देशनालयका निमित्त निर्देशक डा. सहदेबबहादुर भण्डारीका अनुसार पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकमा पाँचवटा, चितवन र ललितपुरमा चार/चारवटा, काभ्रेमा तीनवटा, रामेछापमा दुई र नुवाकोटमा एउटा पक्की पुल निर्माण सकिएको छ ।

‘निर्माणाधीन अवस्थामा रहेका ७१ वटामध्ये ३३ वटाको काम अन्तिम चरणमा पुगेको छ,’ उनले भने ।

‘तत्कालीन जिल्ला विकास समितिबाट हस्तान्तरण भएर आएका र प्रदेश सरकारको योजना अनुसारका पक्की पुलहरुको निर्माण सम्पन्न भएका हुन्,’ भण्डारीका अनुसार गत आर्थिक वर्षमा १४ वटा पक्की पुल निर्माण सम्पन्न भएको थियो ।

‘लकडाउनको कारण चैत महिना काम भएन । वैशाखबाट कामले पुनः गति लिएको हो । अन्यथा चालु आवमै आधाभन्दा बढी पुलको निर्माण सकिन्थ्यो,’ भण्डारीले भने ।

उनका अनुसार निर्माणाधीन अवस्थामा रहेको ७१ वटा पुलसहित आगामी आर्थिक वर्षमा थप ४९ वटा नयाँ पक्की पुल बागमती प्रदेशमा निर्माण सुरु हुनेछ ।

‘अब बागमती प्रदेशमा संघीय सरकार र प्रदेशको गरी एकसय २० वटा नयाँ पक्की पुल निर्माणको काम अगाडि बढ्नेछ,’ भण्डारी भने । एकसय २० वटा पक्कीपुलमध्ये संघीय सरकारबाट ५७ वटा पुलका लागि बजेट विनियोजन भएको छ भने ६३ वटा पक्की पुलका लागि प्रदेश सरकारले बजेट विनियोजन गरिएको छ ।

उनले प्रदेश सरकार पक्की पुलका लागि चालु र आगामी आवमा गरी ६६ करोड रुपैयाँ र संघीय सरकारबाट करिब ४० करोड रुपैयाँ विनियोजन गरिएको बताए ।

यसैगरी चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा प्रदेश सरकारले १३ जिल्लामा  १ सय ७९ किलोमिटर सडक कालोपत्र गरेको छ ।

प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले १ सय ७९ किमि सडक कालोपत्र र स्ल्याब ढलान गरेको संसदलाई यसअघि जानकारी गराएका थिए । १९ किलोमिटर सडक ढलान गरिएको निर्देशनालयले जनाएको छ ।

यसअवधिमा ८ सय ७ किलो मिटर नयाँ सडक निर्माण भएको र तीनसय २० किलोमिटर सडकमा ग्राभेल गरिएको जनाइएको छ ।

सडक विकास तर्फको कुल बजेट १५ अर्ब ५० करोड २३ लाख मध्ये प्रदेश सरकारले सडक र पुल निर्माणमा ६ अर्ब ८८ करोड ५६ करोड खर्च गरेको प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले जानकारी दिएको छ ।

प्रदेश सरकारले स्थानीय तहको केन्द्रसँग सडक सञ्जाल जोड्न प्रदेश चक्रपथ निर्माण आगामी आर्थिक वर्षबाट गर्ने भएको छ । हालसम्म सडक नपुगेको प्रदेशको विकट गाउँपालिका मध्ये धादिङको रुविभ्याली गाउँपालिका र काभ्रेको महाभारत गाउँपालिकाको केन्द्र जोड्न सडक निर्माण कार्य अगाडि बढाइएको छ ।

प्रदेश सरकारले अन्य १४ वटा पालिकाको केन्द्रहरुमा बाह्रै महिना निर्वाध रुपमा सवारी साधनहरु सञ्चालनका लागि कालोपत्रे गर्न लागिएको जानकारी दिएको छ । प्रदेशको मुकाम हेटौंडा र केन्द्रीय राजधानी काठमाडौंलाई जोड्न प्राथमिकताका साथ प्रदेश सरकारले पोष्टबहादुर बोगटी भीमफेदी–कुलेखानी सुरुङमार्गको निर्माण गर्ने जनाएको छ ।

सुरुङमार्ग निर्माणका लागि प्रदेश सरकारले ग्लोबल टेण्डर गर्ने तयारी गरिरहेको प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..