
पाल्पा — सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ गाउँपालिका–३, सिद्धबाबा नजिक मंगलबार साँझ पहिरोमा परी मोटरसाइकलमा सवार एक दम्पती घाइते भएका छन्।
बुटवलबाट पाल्पा रामपुर जाँदै गरेको लु ५१ प ६६३३ नम्बरको मोटरसाइकलमा सवार रामपुर नगरपालिका–६ तालपोखरा निवासी ३६ वर्षीय जनक भण्डारी र उनकी श्रीमती २९ वर्षीया कल्पना चापागाईं पहिरोको चपेटामा परेका हुन्।
सडकमा गुडिरहेको मोटरसाइकल पहिरोसहित सडकबाट तल खसेको र भण्डारी सडक तल उछिटिएको अवस्थामा तथा कल्पना सडक छेउमा अड्किएको अवस्थामा दोभान प्रहरी चौकीको टोलीले उद्धार गरेको पाल्पा प्रहरीले जनाएको छ।
घटना साँझ करिब ६:३० बजे भएको हो। प्रहरी नायब निरीक्षक रुमबहादुर केसीको नेतृत्वमा खटिएको टोलीले आधा घन्टाभित्रै दुवैलाई उद्धार गरी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाएको हो।
मोटरसाइकल चालक भण्डारीको टाउकोमा चोट लागेको छ भने दुवै जनाको अस्पतालमा उपचार जारी छ। समयमै उद्धार भएकाले गम्भीर क्षति टारिएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।