पछिल्लो हप्ता अमेरिकाको संसद भवनमा भएको हिंसामा राष्ट्रपति डोनाल्ड ट्रम्पको भूमिकालाई लिएर डेमोक्र्याटिक पार्टीले अमेरिकी संसदमा उनको विरुद्ध दुई महाअभियोग प्रस्ताव पेश गरेको छ।
ट्रम्पलाई हिंसा भड्काएको आरोप लगाइएको छ। अमेरिकी संसद भवनमा भएको आक्रमण पनि ट्रम्पकै उक्साहटमा भएको दाबी गरिएको छ। महाअभियोग प्रस्तावमा राष्ट्रपतिको निर्वाचन परिणाम उल्टाउन जर्जियाका अधिकारीहरुलाई दबाब दिएको विषय पनि उल्लेख छ। यद्यपी यस विषयमा बुधबार छलफल हुने बताइएको छ।
सिनेटकी सभामुख नेन्सी पेलोसीसहित धेरैजसो डेमोक्र्याट पार्टीका सांसद र अन्य नेताहरुले समेत ट्रम्पलाई उनको कार्यकाल समाप्त हुनुअघि नै ह्वाइटहाउसबाट निकाल्न चाहेका छन्। राष्ट्रपति ट्रम्पको कार्यकाल २० जनवरीमा सकिँदै छ। त्यही दिन नवनिर्वाचित राष्ट्रपति जो बाइडनले शपथ ग्रहण गर्दैछन्।

