काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूनिकट विघटित प्रतिनिधिसभाका सदस्यहरूलाई बालुवाटारमा बोलाएका छन् । काठमाडौंमा उपलब्ध सबै निवर्तमान सांसदहरूलाई बालुवाटार आउन खबर गरिएको थियो । अहिले भरखरै निवर्तमान सांसदहरुको छलफल सुरु भएको केन्द्रीय सदस्य कृष्ण राईले जानकारी दिए ।
“सबै उपलब्ध सांसदहरूलाई बालुवाटार आउन भनिएको थियो । धेरै त जिल्ला-जिल्लामा हुनुहुन्छ । कति बिरामी पर्नुभएको छ,” उनले बाह्रखरीसँग भने, ‘‘काठमाडौंमा भएका निवर्तमान सांसदहरु आइपुग्नुभएको छ । छलफल भरखरै सुरु भएको छ ।’’
प्रचण्ड-माधव समूह पनि भेला हुँदै
यता पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले आजै आफूनिकट निवर्तमान सांसदहरूलाई संसद् भवनमा बोलाएका छन् । संसद् भवनको ल्होत्से हलमा उपस्थित हुन खबर गरिएको वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिएका छन् ।
आजै प्रचण्ड-नेपाल समूहले दिउँसो ३ बजे स्थायी कमिटीको बैठकसमेत बोलाएका छन् ।
निवर्तमान सांसद राईले नेकपा विभाजनको मुखैमा पुगेको जनाएका छन् । उनले निकट भविष्यमै यसको छिनोफानो हुनेगरी गतिविधि अघि बढेको पनि जनाकारी दिए ।

