
काठमाडौं । शुक्रबार र शनिबारको अविरल वर्षापछि आएको बाढी-पहिरोका कारण देशभर सञ्चालनमा रहेका र निर्माणाधीन ३२ जलविद्युत आयोजनामा क्षति पुगेको छ ।
निजी ऊर्जा उत्पादकहरूको संस्था (इपान)का अनुसार सोमबार दिउँसोसम्म संकलित प्रारम्भिक तथ्यांकअनुसार तीन प्रदेशका १० जिल्लामा अवस्थित ३२ जलविद्युत आयोजना प्रभावित भएका हुन् ।
तीमध्ये १८० मेगावाट क्षमताका १७ आयोजना र निर्माणाधीन अवस्थामा रहेका ३३८ मेगावाट क्षमताका १५ जलविद्युत आयोजना बाढीबाट प्रभावित भएका छन् ।
विगत वर्षहरूमा बाढीको पूर्वसूचना प्राप्त नहुँदा तथा प्राप्त सूचनाप्रति पनि विश्वस्त नहुँदा ठूलो मानवीय क्षतिसमेत हुँदै आएकोमा यस वर्ष इपान र जल तथा मौसम विज्ञान विभागबीच बाढीको पूर्वसूचना आदानप्रदान गर्ने सम्झौता भई सोहीअनुसार पूर्वसूचना प्रेषित गरी मानवीय क्षति रोक्न सफाल भएको इपानका अध्यक्ष गणेश कार्कीले बताए ।
समयमै आवश्यक पूर्वतयारी गर्दा यसपटक भारी वर्षाको तुलनामा जलविद्युत आयोजनाहरुमा निकै कम मात्र भौतिक क्षति भएको पनि अध्यक्ष कार्कीले बताए ।
बाढी-पहिरोका कारण सबैभन्दा बढी प्रभावित भएको कोशी प्रदेशको इलाम जिल्लामा जलविद्युत आयोजनाहरू पनि सबैभन्दा धेरै प्रभावित भएका छन् । इलाममा मात्रै सञ्चालनमा आएका १५ वटा जलविद्युत आयोजनाको उत्पादन बन्द भएको छ ।