जेठ २ भनेको श्राद्धमा बिरालो बाँधे जस्तो होइन : ओली

द्वारा प्रकाशित गरिएको हो |
२०७८ भाद्र २२, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट
फाईल तस्विर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेठ २ भनेको श्राद्धमा बिरालो बाँधे जस्तो नभएको बताएका छन् ।

माधवकुमार नेपाल समूह छाडेर एमालेमा बसेका नेताहरुले १० बुँदे सहमति कार्यान्वयन नभएको गुनासो गरिरहेका बेला ओलीले भने जेठ २ मा जस्ताको तस्तै फर्किन सम्भव नभएको बताएका हुन् ।

मंगलबार पोखरामा आयोजित वृहत कार्यकर्ता भेलामा एमाले अध्यक्ष ओली भने, ‘जसो गर्दा समस्या समाधान हुन्छ, त्यसो गर्नुस् । त्यही हो १० बुँदे ।’ पार्टीमा विवाद समाधानका लागि गठित कार्यदलले गरेको १० बुँदे सहमतिमा पार्टी कमिटीलाई २०७५ जेठ २ गतेको स्थितिमा फर्काउने उल्लेख थियो ।

माधव नेपाललाई पनि फुट्न नदिन कार्यदल बनाएको, तर उनले १० बुँदेलाई अस्वीकार गरेको ओलीले बताए । एमाले अध्यक्ष ओलीले अघि भने, ‘हामीले यसलाई उपयोग गर्दै पार्टीको समस्या समाधान गर्दै, भ्रम र अलमलमा परेका साथीहरुलाई पनि ल्याउँदै पार्टीलाई मजबुत बनाएर जान स्वीकार गरेका छौं । यसलाई कुनै हाउगुजीका रुपमा नबुझ्न आग्रह गर्छु ।’

१० बुँदेबारे ओलीको धारणा उनकै शब्दमा :

१० बुँदे भन्ने छ अहिले । १० बुँदे समस्या समाधान गर्नका लागि हो, समस्या खडा गर्न होइन । त्यसकारण १० बुँदे के ? जसो गर्दा समस्या समाधान हुन्छ, त्यसो गर्नुस् न । त्यही हो १० बुँदे । जेठ २ गते भन्नुहुन्छ, जस्ताको तस्तै चार वर्ष अगाडिको २०७५ साल कहाँबाट फर्किन्छ ? जस्ताको तस्तै त फर्किँदै फर्किँदैन नि ।

नेकपाको दर्ता बदर भएपछि नेकपा एमाले र माओवादी सर्लक्क अलग भएको होइन, त्यो कानुनी कुुरा हो । हामीले पार्टी एकीकरण गरेका थियौं २०७५ जेठ ३ गते । त्यो एकीकरण कायमै छ । प्रचण्ड गुट अलग भएर गयो, माओवादी केन्द्रबाट आउनुभएका थुप्रै साथीहरु अहिले पनि यसै पार्टीमा हुनुहुन्छ ।

यो पार्टीको अहिलेको नाम नेकपा एमालेको हो । यो हिजोको नेकपाको पनि निरन्तरता हो, एकीकणको पनि निरन्तरता हो । म साथीहरुलाई आग्रह गर्न चाहन्छु, सजिलोसँग कामलाई अगाडि बढाउनुस् । कुनै पनि कारणले तनावग्रस्त नहुनुस्, असहज मनका साथ नचल्नुस् । कतिपय ठाउँमा विनासित्ति जेठ २ भनेर … जेठ २ भनेको श्राद्धमा विरालो बाँधे जस्तो होइन ।

यो त पार्टीलाई गतिशील बनाउन र समस्या देखा परे भने समस्या समाधान गर्न हो । यो कुनै पार्टीसँग गरिएको सम्झौता होइन । हामीले माधव नेपाललाई पनि फुट्न नदिने भनेर बनाइएको कार्यदल थियो । त्यो क्षति रोक्न बनाइएको थियो । माधव नेपालले अस्वीकार गरे ।

हामीले यसलाई उपयोग गर्दै पार्टीको समस्या समाधान गर्दै, भ्रम र अलमलमा परेका साथीहरुलाई पनि ल्याउँदै पार्टीलाई मजबुत बनाएर जान स्वीकार गरेका छौं । यसलाई कुनै हाउगुजीका रुपमा नबुझ्न आग्रह गर्छु ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..