७ जेठ, काठमाडौं । प्रधानमन्त्री नियुक्तिका लागि विश्वासको मत प्राप्त गर्ने आधार पेश गर्न राष्ट्रपतिले दिएको समयसीमा छोटिँदै गर्दा दलहरुले आन्तरिक छलफल तीव्र बनाएका छन् ।
विपक्षी दलहरु वैकल्पिक सरकार बनाउने प्रयासमा जुटेका छन् भने सत्तारुढ एमालेका नेताहरुले जनता समाजवादी पार्टी (जसपा)ले साथ दिए दाबी गर्ने बताएको छ ।
जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच हालै मात्र राष्ट्रिय सहमति वा आफ्नो पार्टीको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको थियो ।
त्यही सहमतिका आधारमा यादव पक्षका नेताहरुले अब महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउनुपर्ने बताएका छन् । यादव निकट सांसद इस्तियाक राई भन्छन्, ‘हाम्रो पार्टीको उम्मदेवार महन्थ ठाकुर हो, दलहरुको समर्थन खोजेका छौं ।’
जसपा संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले पनि लौरो उभ्याएर भए पनि वैकल्पिक सरकार दिनुपर्ने बताएका छन् । संसद, संविधान र लोकतन्त्रको रक्षा आजको अहम प्रश्न भएको भन्दै उनले ट्वीटरमा लेखेका छन्, ‘सबैले आवस्यक त्याग/बलिदान गरौं । लौरो उभ्याएर भए पनि ७६(५)को वैकल्पिक सरकार दिऊ !’
नेपाली कांग्रेसमा पनि जसपाको नेतृत्व स्वीकार गरेर भए पनि वैकल्पिक सरकार बनाउनुपर्ने मत छ । यसबारे छलफल गर्न पदाधिकारी बैठक सुरु भएको छ ।
तर स्वयं ठाकुरले भने केही बोलेका छैनन् । बरु प्रधानमन्त्री ओलीले नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न आग्रह गरेलगतै बालुवाटार पुगेको र ठाकुर पक्षको समर्थनमा प्रधानमन्त्री केपी शर्मा ओली नै दोहोरिने दाबीहरु आइरहेका छन् ।
ठाकुर निकट जसपा नेता सुरेन्द्र यादवले जन्मसिद्ध नागरिकको सन्तानलाई वंशजको नागरिकता दिने र संविधान संशोधनका लागि आयोग बनाउने सैद्धान्तिक सहमति दिएको भन्दै भने, ‘बाँकी कुरा आज सार्वजनिक हुन्छ होला ।’

