‘वर्तमान राजनीतिक परिस्थितिमा जसपा नेपाल सत्ता प्राप्तिभन्दा एजेण्डा सम्बोधन नै जसपा नेपालको मूल ध्येय रहेको अवस्थामा मुद्दाबाट विचलित भई सरकार निर्माण गर्ने, सरकारमा सहभागी हुने वा कुनै पनि किसिमको वैकल्पिक सरकार गठनमा संलग्न हुने कार्य जसपा नेपालको उद्देश्य विपरीत हो,’ ठाकुरले सोमबार राति विज्ञप्ति मार्फत् भनेका छन् । वैकल्पिक सरकार गठनको कार्यबाट झन् अस्थिरता हुने तथा एजेण्डा सम्बोधनको कार्य अझै अनिश्चिततातर्फ धकेलिने ठाकुरको बुझाइ छ ।
जसपाकै अर्का अध्यक्ष डा. बाबुराम भट्टराई र उपेन्द्र यादव भने ओली नेतृत्वको वर्तमान सरकारलाई विदा गरेर नयाँ सरकार गठनको प्रयासमा खुलेर लागेका छन् । भट्टराई–यादव पक्षका सांसदहरुले प्रधानमन्त्री ओलीको विश्वासको मतको विपक्षमा मत दिएका थिए ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जसपाका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति विद्यादेवी भण्डारीलाई संयुक्तरुपमा पत्र लेखेर संविधानको धारा ७६ को उपधारा २ अनुसार नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउन आग्रह गरेका थिए । राष्ट्रपति भण्डारीले पनि बहुमतको सरकार गठनका लागि वैशाख ३० गतेसम्मको समयसीमा दिएकी छन् ।

