५ वैशाख, काठमाडौं । कोरोनाको दोस्रो लहर आउनासाथ फेरि रेष्टुरेन्ट व्यवसायमा मन्दी छाउन थालेको छ । व्यवसायीका अनुसार पछिल्ला दिनमा ग्राहक घटेका छन् । त्यसमाथि प्रहरीले राति ९ बजे नै कारोबार बन्द गर्न दबाब बढाउँदा समस्या थपिएको छ ।
रेष्टुरेन्ट एन्ड बार एशोसिएसन अफ नेपाल (रेबान)का अनुसार गत तिहारपछि महामारी साम्य हुँदै जाँदा ५०–६० प्रतिशत व्यापार हुन थालिसकेको थियो ।
मूलतः पर्यटकको लागि खोलिएका रेष्टुरेन्टहरुमा त व्यापार अझै पनि शून्यप्रायः नै छ, मैले नै ठमेलको रेष्टुरेन्ट अस्थायी रुपमा बन्द गरें,’ रेबानका महासचिव एकराज अधिकारी भन्छन्, ‘अहिले त अरु रेष्टुरेन्टहरु पनि ग्राहकविहीन हुन थालेका छन् ।’
उनका अनुसार अहिले घाटामा चलिरहेका रेष्टुरेन्ट र क्याफे आफैं बिक्रीमा रहेको विज्ञापन सामाजिक सञ्जाल र ई–कमर्स साइटहरुमा देखिन थालेका छन् । कतिपय रेष्टुरेन्टले सटर बन्द गरेर त कतिले खुलै राखेर बिक्रीको सूचना राखेका छन् ।
गुल्मीका कृष्ण न्यौपानेले नयाँ बसपार्कमा चलाएको रेष्टुरेन्ट पनि बिक्रीमा छ । मासिक ४० हजार भाडा तिर्न र रेस्टुेरन्टको अन्य खर्च धान्न मुस्किल परेपछि उनले बिक्रीको बाटो रोजेका हुन् ।
उनका अनुसार साढे तीन वर्षअघि रेष्टुरेन्टबाट मासिक एकडेढ लाख बचत गर्न मुस्किल थिएन । तर, अहिले रेष्टुरेन्टमा आउने ग्राहक नै नभएपछि १७ लाख लगानीको रेष्टुरेन्ट १२ लाखसम्म पाए बिक्री गर्न चाहेको न्यौपानेले बताए । उनले भने, ‘तर, फेरि लकडाउन हुने हल्लाका कारण किन्ने मान्छे पनि पाइएको छैन ।

