चीन सरकारले नेपाललाई अनुदानस्वरूप प्रदान गरेको कोभिडको खोप दुई देशका सरकारको संयुक्त प्रयासद्वारा सोमबार हिमालय पर्वत शृंखला पार गरी काठमाडौंमा ल्याइपुर्याइयो । कोभिड महामारी फैलिन थालेदेखि चीनले नेपालसँग हातमा हात मिलाई विभिन्न माध्यमद्वारा महामारी नियन्त्रणमा सक्रिय रूपमा सहकार्य गर्दै कठिन घडीको संयुक्त सामना गर्ने मैत्री सम्बन्धको इतिहासमा एक नवीन एवं उज्ज्वल पृष्ठ थपेको छ ।
चीनले कोभिड खोपको प्रभावकारिता र सुरक्षित प्रयोगलाई सर्वोच्च महत्त्व दिएको छ । अहिले चीनमा १७ प्रकारका कोभिड खोपको क्लिनिकल परीक्षण भइरहेको छ, तीमध्ये साइनोफार्म, साइनो भाक्लगायत चार प्रकारका खोपहरू चीनमा नियमानुसार बजारमा ल्याइसकिएका छन् । २०२१ फेब्रुअरी २० सम्ममा साइनोफार्मले उत्पादन गरेको कोभिड खोप चीनमा कुल ३ करोड ४० लाख मात्रा लगाइसकिएको छ । खोप ८० प्रतिशतभन्दा बढी प्रभावकारी र सुरक्षित छ भने खोप लगाएपछि शरीरमा एन्टिबडी देखापर्ने दर ९९.५२ प्रतिशत रहेको छ । गम्भीर अवस्था आउनबाट बचाउने प्रभावकारिता पनि शत प्रतिशत छ । खोप लगाइसकेपछि गम्भीर प्रकृतिको प्रतिक्रिया देखापर्ने दर १० लाखमा एकभन्दा कम छ, जुन सामान्य रुघाखोकीको खोपको भन्दा पनि कम हो । अहिलेसम्म नेपालसहित ६० भन्दा बढी देशले चिनियाँ खोप प्रयोग गर्ने अनुमति दिइसकेका छन् । १० भन्दा बढी देशका राष्ट्रप्रमुख अथवा सरकार प्रमुखहरूले चिनियाँ खोप लगाइसकेको सार्वजनिक जानकारी दिइसकिएको छ । चीनभित्र र विदेशमा चिनियाँ खोप लगाउनेहरूको संख्या १० करोड नाघिसकेको छ । चिनियाँ खोप सुरक्षित तथा प्रभावकारी रहेको तथ्य विश्वका विभिन्न देशमा प्रमाणित भइसकेको छ ।
यहाँ विशेष जोड दिनुपर्ने कुरा के हो भने, कोभिड खोप भाइरसलाई परास्त गर्ने प्रभावकारी हतियार हो, त्यो भूराजनीतिको साधन होइन । चीनले कोभिड खोपको अन्तर्राष्ट्रिय सहकार्यद्वारा कुनै पनि भूराजनीतिक उद्देश्यपूर्ति गर्ने विचार गरेको छैन, कुनै आर्थिक फाइदा उठाउने योजना बनाउनेछैन र यसमा कुनै राजनीतिक पूर्वसर्त राखेको छैन । चीनले खोपलाई विश्वका सम्पूर्ण मानिसले प्रयोग गर्न पाउने, प्रयोग गर्न सक्ने सार्वजनिक उत्पादनको वस्तु बनाई सही अर्थमा ‘जनताको खोप’ बनाउने प्रयास गर्दै आएको छ ।
गत वर्षदेखि कोभिड महामारीले विश्वलाई सम्पूर्ण क्षेत्रमा नकारात्मक असर पारेको छ । देशहरूबीच मानिसहरूको आवतजावत तथा आर्थिक–व्यापारिक सहकार्यहरू सबैमा त्यसको असर पर्न गएको थियो । तर चीन–नेपाल ‘बीआरआई’ सहकार्यमा अवरोध उत्पन्न भएन; दुवै पक्षको संयुक्त प्रयासमा नयाँ विकास, नयाँ उपलब्धि निरन्तर देखा परिरहे । सन् २०२० मा चीन नेपालको वैदेशिक लगानीकर्ता देशका रूपमा पहिलो स्थानमा रहिरह्यो, चीनले नेपालमा गरेको लगानी १० करोड अमेरिकी डलर नाघेको छ । चीन–नेपाल द्विपक्षीय सहयोगका विभिन्न परियोजना क्रमिक रूपमा अघि बढिरहेका छन् ।
चिनियाँ सहयोगको दरबार हाइस्कुल पुनर्निर्माणको परियोजना पूरा गरी नेपाल पक्षलाई हस्तान्तरण गरिएको छ; चिनियाँ सहयोगको अरनिको राजमार्ग तेस्रो चरणको मर्मत–सम्भार परियोजना प्रारम्भ भएको छ; चिनियाँ सहयोगको काठमाडौं उपत्यका दोस्रो चरणको चक्रपथ विस्तार परियोजनामा विद्यमान संरचनाहरूको स्थानान्तरण कार्यमा ठोस उपलब्धि भएको छ । चीनको पावरचाइनाले जिम्मा पाएको मेलम्ची परियोजनाअन्तर्गत सुरुङबाट पानी पठाई गरिने परीक्षण प्रारम्भ हालै भइसकेको छ । चीन–नेपाल सीमा वारिपारिको रेलमार्ग निर्माणको सम्भाव्यता अध्ययन कार्य क्रमिक रूपमा अघि बढिरहेको छ । हामीलाई विश्वास छ, चिनियाँ खोप आइपुगेपछि दुई देशका मानिसहरूको आवतजावतमा सुविधा हुनेछ, सहकार्य परियोजनाहरूको प्रगति छिटो हुनेछ, र ‘समृद्ध नेपाल सुखी नेपाली’ को लक्ष्यप्राप्तिमा सहयोग पुग्नेछ ।
चिनियाँ राष्ट्रपति सी चिनफिङले भन्नुभएजस्तै, ‘चिसो हिउँदले वसन्तको आगमनलाई रोक्न सक्दैन, कालो रातले बिहानको प्रकाशलाई छोप्न सक्दैन ।’ कोभिड खोपले महामारीमाथि विजय प्राप्त गर्ने आशाको किरण बोकेर ल्याएको छ । सहकार्य र सहयोगको पथमा अडिग रही हामीले बहुलवादको अनुसरण गरिरह्यौं भने अवश्य पनि महामारीविरुद्धको युद्धमा अन्तिम विजय प्राप्त गर्न सक्छौं । चीनले नेपालसहित विश्वका सबै देशसँग एकता र सहकार्य कायम राख्नेछ, संयुक्त रूपमा मानवजातिको स्वास्थ्यसम्बन्धी साझा समष्टि निर्माण गर्ने प्रयास जारी राख्नेछ, महामारी नियन्त्रणलगायत सबै क्षेत्रका सहकार्यलाई अघि बढाई संयुक्त रूपमा विश्वभरका मानिसहरूको सुख–समृद्धिका लागि प्रयास गरी अझ सुन्दर भविष्यको स्वागत गर्नेछ ।
(होउ जनगणतन्त्र चीनकी नेपालस्थित राजदूत हुन् ।)

