बाराको जीतपुरसिमरा वडा नम्बर २३ का १४ वर्षीय किशोर शाहीद हुसेन अन्सारीको हत्या गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ।
छिमेकीको विवाह भोजमा गएका किशोर फागुन ११ गतेदेखि हराइरहेका थिए। फागुन २८ गते गाउँमै उद्योगले फ्याँकेको कालो छाइमा उनको शव भेटिएको थियो।
शव भेटिएको ५ दिनपछि प्रहरीले किशोरको योजनाबद्ध ढंगले हत्या भएको दावीसहित ३ जनालाई पक्राउ गरेको हो। हत्यामा संलग्न ३ जना नै सोही गाउँका हुन्।
प्रहरीले जीतपुरसिमरा–२३ भलुही टोलका २५ वर्षीय कियामुद्दिन मन्सुरी, २१ वर्षीय अफसान भनिने अमर हुसेन मियाँ हजाम र १९ वर्षीय आवेदिन मियाँ अन्सारीलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ।
प्रहरीका अनुसार शाहीद हराएको अघिल्लो दिन नै अभियुक्तले हत्या योजना बनाएको र फागुन ११ गते नै उनको हत्या भएको खुलेको छ। पक्राउ परेका ३ जना शाहीदसँगै लागूऔषध सेवन गर्ने साथी भएको पनि प्रहरीले बताएको छ।
पारिवारिक र जग्गा जमिनसम्बन्धी विवादको रिसइबी र लागुपदार्थ सेवनपछि निम्तिएको आपसी विवाद, प्रेम सम्बन्ध तथा आर्थिक लाभका लागिसमेत हत्या भएको देखिएको बाराका प्रहरी उपरीक्षक दीपेन्द्र शाहीले जनाएका छन्।
अभियुक्त अफसानले ‘गाँजा खान जाऊँ’ भनी शाहीदलाई घटनास्थल लगेका थिए। आवेदिन र कियामुद्दिन पहिलेदेखि नै त्यहाँ थिए। उनीहरूले शाहीदलाई डोरीले बाँकेर ढुंगाले टाउकोमा हानेर हत्या गरेको स्वीकार गरेको प्रहरीले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ।
हत्यापछि अभियुक्तहरूले शाहीदको शवलाई घिसार्दै नजिकै फोहोर थुपारिएको खाडलमा फालेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयका डीएसपी गौतम मिश्रले बताए।
‘अभियुक्तले घटना घटाएको स्वीकार गरेका छन्, उनीहरूले प्रयोग गरेको दाप पनि बरामद गरिसकेका छौं,’ डीएसपी मिश्रले भने, ‘पोष्टमार्टम रिपोर्ट आउन बाँकी छ, पक्राउ परेकाहरूमाथि कर्तव्य ज्यानसम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

