विद्युतीय भुक्तानीलाई उच्च प्राथमिकता दिएको नेपाल राष्ट्र बैंकले मोबाइल तथा इन्टरनेट बैंकिङमार्फत हुने दैनिक कारोबार सीमा बढाएको छ भने धितोपत्रको कारोबारका लागि तोकिएको सीमा नै हटाएको छ ।
केन्द्रीय बैंकले बुधवारदेखि लागू हुने गरी मोबाइल बैंकिङको कारोबार प्रतिदिन रू.२ लाखसम्म गर्न पाउने व्यवस्था गरेको छ । यसअघि यस्तो सीमा दैनिक रू. १ लाखसम्म मात्र गर्न पाइन्थ्यो । त्यस्तै अब अनुमतिप्राप्त धितोपत्र दलालहरूसँग धितोहरूको कारोबारबापत तोकिएको बैंक खातामा जति रकम पनि भुक्तानी गर्न सकिने भएको छ । यसअघि धितोपत्रको कारोबार गरेबापत प्रतिभुक्तानी कारोबार अधिकतम मोबाइल बैंकिङतर्फ रू. १ लाख र इन्टरनेट बैंकिङतर्फ रू. १० लाख थियो । धितोपत्र कारोबारमा भुक्तानीको सीमा आवश्यक नदेखिएको र कहिलेकाहीँ साबिक सीमाले नपुगेकाले सीमा हटाएको राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेल बताउँछन् । दिनप्रतिदिन कारोबारको आकार बढ्दै गएकाले विद्युतीय सीमालाई बढाइएको उनको भनाइ छ ।

