तत्काल सरकारमा नजाऔं : पौडेल, देउवाले भने, ‘पाएको जिम्मेवारीबाट भाग्न मिल्दैन’

द्वारा प्रकाशित गरिएको हो |
२०७७ फाल्गुन २०, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट
फाईल तस्विर

चितवन :सरकारमा जाने कि नजाने भनेर कांग्रेसमा दुई धार देखिएको छ।  पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले एकै मञ्चबाट फरक–फरक धारणा अभिव्यक्त गरेका छन्।  सभापति देउवा सरकारको नेतृत्व गर्नुपर्ने अवस्थामा त्यसबाट भाग्न नहुने पक्षमा देखिए।  प्रतिपक्षमै रहेर अगाडि बढ्नुपर्ने पक्षमा देखिए वरिष्ठ नेता पौडेल।

देउवाले आफूले प्रधानमन्त्री पद नखोजेको तर काँधमा आएको जिम्मेवारीबाट पछि नहट्ने बताए।  देउवाले आफू प्रधानमन्त्री हुने कुरामा चिन्ता नगर्न पौडेललाई आग्रह गरे। ‘चिन्ता नगरे हुन्छ रामचन्द्रजी तपार्इंले, म प्रधानमन्त्री भए पार्टीकै बन्ने त हो।  अरू पार्टीभन्दा आफ्नै पार्टीको भए तपाईंलाई पनि फाइदा होला, खुसी हुनुहोला भन्ने लाग्छ।  तपाईंले शेरबहादुर हुँदै नहोस् भन्ने चाहनुहुन्न होलाजस्तो लाग्छ।  अरू हुने शेरबहादुर हुनै हुन्न भन्ने होइन होला’, देउवाले हाँस्दै भने, ‘सानो चित्त नगर्नुस् रामचन्द्रजी, विशाल हृदय राख्नुहोस्, चित्तै सानो छ, रामचन्द्रजीको भन्ने विश्वास भो।  त्यस्तो नगर्नुस्। ’

उनले राजनीतिक भाषा बोल्न चितवन नआएको तर पौडेलले बोलेपछि बोल्नुपरेको बताए।  ‘राजनीतिक कुरा केही भन्नु छैन।  रामचन्द्रजी बोलिहाल्नुभयो के गर्ने समस्या परिहाल्यो’, उनले पूर्वसांसद एकनाथ रानाभाटको श्रद्धाञ्जली सभामा भने, ‘कांग्रेस पदउन्मुख पनि छैन, काँधमा आएको जिम्मेवारीबाट भाग्नेवाला पनि छैन।  प्रधानमन्त्री पाउँ पनि भनेको छैन है रामचन्द्रजी।  परि आयो भने भाग्नेवाला पनि छैन।  त्यसकारण पार्टीलाई फाइदै होला।  राम्रो कुरा त्यही हो। ’

वरिष्ठ नेता पौडेलले प्रतिनिधिसभा पुनःस्थापनाले एउटा संकट टरे पनि विकृतिबाट लोकतन्त्रलाई बचाउन तत्काल सरकारमा जान नहुने बताए।  हैसियतभन्दा बढी आकांक्षा राख्न नहुने पौडेलको भनाइ थियो।  पौडेलले कांग्रेस सानो संख्यामा भए पनि भूमिका ठूलो रहेकाले लोकतन्त्र रक्षाका लागि अगाडि बढ्नुपर्ने बताए।  ‘आफ्नो हैसियतभन्दा बढी आकांक्षा राख्नु विकृति हो’, पौडेलले भने, ‘कांग्रेस सानो संख्यामा छ।  तर, भूमिका ठूलो छ।  प्रतिपक्षीको भूमिका सही तरिकाले निर्वाह गर्न सकियो भने मात्र लोकतन्त्रको रक्षा गर्न सकिन्छ। ’

उनले कांग्रेस प्रतिपक्षीको भूमिकाबाट डगमगाउनु नहुनेमा जोड दिए। ‘पुनःस्थापनाले एउटा संकट टर्‍यो तर विकृतिबाट लोकतन्त्रलाई बचाउनुपर्छ।  लोकतन्त्र सुरक्षित छैन।  लोकतन्त्रमाथि देशी/विदेशी शक्तिबाट षड्यन्त्र भएको छ’, उनले भने, ‘जनताले भरोसा गर्ने पार्टी कांग्रेस हो।  हामी प्रतिपक्षी भूमिकाबाट डगमगाउनु हुँदैन। ’

शोक सभामा कांग्रेस महामन्त्री डा. शशांक कोइराला राजनीतिक विषयमा प्रवेश गरेनन्।  भरतपुर विमानस्थलमा बिहान पत्रकारसँग कुराकानीमा भने महामन्त्री डा. कोइरालाले निर्वाचन गराउने गरी कांग्रेस सरकारमा जानुपर्ने बताएका थिए।  कांग्रेस सरकारमा नगई पनि नेकपा विभाजन हुन्छ भने सरकारमा जानुको अर्थ नहुने उनको भनाइ थियो।  ‘नेकपालाई टुटाउने हो भने कांग्रेस सरकारमा जानुपर्छ।  त्यसभन्दा पहिले नै टुट्छ भने सरकारमा गएर केही उपलब्धि हुँदैन’, उनले भने।

(आजको अन्‍नपूर्ण पोस्टमा समाचार छ )

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..