मेलम्चीमा ‘आस पलायो’

द्वारा प्रकाशित गरिएको हो |
२०७७ फाल्गुन ११, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट
फाईल तस्विर

मेलम्ची खानेपानी आयोजनाले दोस्रो पटक सुरुङ परीक्षण थालेको छ। आयोजनाको मुहान सिन्धुपाल्चोकको हेलम्बु अम्बाथानस्थित अस्थायी बाँधबाट सोमबार सुरुङ परीक्षण सुरु गरिएको हो। सुरुङ परीक्षणलाई दुई महिना छुट्याइएको छ भने प्रशोधन केन्द्र परीक्षणलाई थप दुई महिना। त्यसपछि मेलम्चीको पानी संघीय राजधानीमा वितरण सुरु गर्न सकिने आयोजनाले जनाएको छ।

आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले एकपटक पानी सुन्दरीजल पुगेपछि पुनः सुरुङमा पानी बन्द गरी परीक्षण गरेपछि मात्र नियमित रूपमा पानी सुन्दरीजल पुर्‍याएर राजधानीमा वितरण सम्भव हुने जानकारी दिए।

मेलम्चीको पानी सोमबार २ सय ७० मिटर तल रहेको २१ नम्बर अडिट गेटसम्म आइपुगेको छ। आयोजनाका अनुसार सुरुङको प्रत्येक अडिटमा भएको गेटमा परीक्षण गर्दै पानी सुन्दरीजल पुर्‍याइनेछ। अम्बाथान, ग्याल्थुम, सिन्धु अडिटमा परीक्षण हुँदै पानी सुन्दरीजल पुर्‍याउन १६ दिन लाग्नेछ। परीक्षणका क्रममा प्रतिसेकेन्ड २ सय ६० लिटरका दरले पानी सुरुङमा पथान्तर गरिएको छ।

खानेपानीमन्त्री मणिचन्द्र थापा, युवा तथा खेलकुदमन्त्री दावा तामाङ र सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले कन्ट्रोल रुममा रहेको स्विच अन गरी पानी सुरुङतर्फ पठाएका हुन्। करिब दुई दशकअघि सुरु भएको आयोजनाको म्याद पटक–पटक सार्दै अस्थायी बाँध बनाएर पानी सुन्दरीजल पुर्‍याउन लागिएको हो।

यसअघि असार २१ गते पहिलो पटक सुरुङ परीक्षण गरिएको थियो। त्यसको नौ दिनमा असार ३० गते १७ नम्बर गेटको ढोका फुटेर आयोजनाका कर्मचारीको मृत्यु भएको थियो। उक्त दुर्घटनापछि प्राविधिक रूपमा अध्ययन गरी पूर्णरूपमा मर्मत गरेर सुरुङ परीक्षण गरिएको आयोजनाले जनाएको छ।

आयोजनाको काम सन् २०१३ सेप्टेम्बरमा सक्ने गरी २००९ सेप्टेम्बरमा सुरुङ निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई दिइएको थियो। उक्त कम्पनीले ठेक्का तोडेपछि इटालियन कम्पनीलाई दिइएको थियो। उसले पनि अन्तिम समयमा सम्झौता तोडेपछि पुनः ठेक्का गरी चिनियाँ कम्पनी सिनो हाइड्रोले सुरुङको फिनिसिङ सकेपछि आयोजना सम्पन्न गर्ने लक्ष्य लिइएको थियो। त्यसको सात वर्षपछि मेलम्चीको पानी काठमाडौं पुर्‍याउने तयारी भएको हो।

अम्बाथानबाट २६ किमि सुरुङ निर्माण गरी पहिलो चरणमा दैनिक १७ करोड लिटर पानी सुन्दरीजल पुर्‍याउन लागिएको छ। पहिलो चरणको आयोजना सम्पन्न भएपछि याङ्ग्री र लार्केबाट दैनिक १७/१७ करोड लिटर पानी थप गर्ने लक्ष्य छ। एसियाली विकास बैंकको ३ सय १७ मिलियन डलर ऋण सहयोगमा आयोजना निर्माण गरिएको हो। पहिलो चरणमा दैनिक १७ करोड लिटर पानीका लागि सुन्दरीजलमा प्रशोधन केन्द्र निर्माण भएको छ।

मन्त्री थापाले मेलम्ची आयोजनाको सफलतासँग सिंगो मुलुकको भविष्य जोडिएको बताए। मेलम्ची आयोजना देशको सफलतासँग जोडिएकाले यसको असफलतालाई सरकारको असफलतासँग हेर्ने गरिएको मन्त्री थापाको भनाइ थियो। अर्का मन्त्री तामाङले आयोजना सम्पन्न हुन लागेसँगै लेबी र स्थानीय सप्लायर्सको दिन बाँकी भुक्तानीको सम्बन्धमा छिटो निर्णयमा पुग्न आयोजनालाई निर्देशन दिएका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..