अब ४० लाखलाई खोप

द्वारा प्रकाशित गरिएको हो |
२०७७ फाल्गुन १०, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट
फाईल तस्विर

कोभिड–१९ विरुद्धको ‘कोभिसिल्ड’ खोपको १० लाख मात्रा आइतबार काठमाडौं आइपुगेको छ । सरकारले गत बुधबार २० लाख मात्रा खोप खरिदका लागि भारतको सिरम इन्स्टिच्युट अफ इन्डियासँग सम्झौता गरेको थियो । सम्झौताअनुसार पहिलो खोप आइपुगेको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार यो खोप फागुन २३ गते सुरु हुने देशव्यापी अभियानमा प्रयोग गरिनेछ । हाल टेकुस्थित कोल्ड रुममा राखिएको खोप आवश्यकताअनुसार प्रदेशमा पठाइनेछ । प्रदेशहरूबाट पालिकाका केन्द्रसम्म पुर्‍याइनेछ । अभियानअन्तर्गत ५५ वर्षमाथिका र प्राथमिकतामा राखिएका खास समूहका गरी करिब ४० लाखभन्दा बढीलाई खोप लगाइने मन्त्रालयले जनाएको छ । खास समूहमा विश्वविद्यालय तथा विद्यालयका प्राध्यापक, शिक्षक तथा कर्मचारी, सार्वजनिक यातायातका चालक, सहचालक, औषधि पसल र प्रयोगशालामा कार्यरत कर्मचारी छन् ।

‘५५ वर्षमाथिलाई खोप दिन तयारी गर्दै छौं,’ मन्त्रालयको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमले कान्तिपुरसँग भने, ‘खोप लगाउने अभियान चलेकै बेला बाँकी १० लाख मात्रा पनि आइपुग्नेछ ।’ यसअघि भारत सरकारद्वारा अनुदानमा प्राप्त १० लाख मात्रामध्ये हालसम्म सरकारसँग करिब ५ लाख मात्रा खोप बाँकी छ । ‘कोभाक्स सुविधाअन्तर्गतको निःशुल्क खोप पहिलो चरणमा फेब्रुअरीको अन्त्य वा मार्चको सुरुतिर आइपुग्नेछ,’ गौतमले भने ।

पहिलो चरणमा २२ लाख ५६ हजार मात्रा अक्सफोर्ड–अस्ट्रेजेनेकाको खोप आउनेछ । कोभाक्सबाट विभिन्न चरण गरी २० प्रतिशत जनसंख्याका लागि निःशुल्क खोप नेपालले पाउनेछ ।

यसअन्तर्गत खोप र सिरिन्ज निःशुल्क हुन्छ भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म पुर्‍याउने खर्चसमेत दाताले नै बेहोर्ने मन्त्रालयको परिवार कल्याण महाशाखाका निर्देशक डा. तारानाथ पोख्रेलले बताए । सरकारले कोभाक्सबाहेक सहुलियत मूल्यमा खोप खरिद गर्नसमेत निवेदन दिएको छ । यसअन्तर्गत कोभाक्सले निर्धारण गरेको खोपको विश्वव्यापी मूल्य भुक्तानी गरेर किन्न सकिन्छ ।

सरकारसँग हाल अनुदानको करिब ५ लाख, खरिद गरेको १० लाख र कोभाक्स सुविधाअन्तर्गतको २२ लाख ५६ हजार मात्रा गरी ४७ लाख ५६ हजार मात्रा खोप हुने भएकाले अभियान सुरु गरेको मन्त्रालयले जनाएको छ । चीनबाट अनुदानअन्तर्गत ५ लाख मात्रा खोपसमेत छिट्टै आइपुग्ने अनुमान छ । ‘यति खोप अभियानका लागि पर्याप्त हुनेछ,’ डा. गौतमले भने, ‘दोस्रो मात्रा खोप लगाउन न्यूनतम ८ देखि अधिकतम १२ साता लाग्नेछ ।’

सरकारले गत माघ १४ मा पहिलो चरणको खोप अभियान सुरु गरेकाले अब दोस्रो मात्रा लगाउन चैतको तेस्रो सातादेखि सुरु हुनेछ । सरकारले शनिबारसम्म १ सय ६५ खोप केन्द्रमार्फत ४ लाख २२ हजार ६४ जनालाई खोप लगाइसकेको छ । उनीहरूलाई कम्तीमा दुई महिनापछि दोस्रो मात्रा खोप दिन खासै अप्ठ्यारो नहुने मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए । ‘खोप सकिन लागे द्रुत निर्णय गरेर किन्न सकिने भएकाले दोस्रो मात्रा लगाउन वा अभियान जारी राख्न खासै समस्या नहुने देखिएको छ,’ उनले भने । नयाँ चरणको खोप अभियान सुरु गर्दा मुलुकमा दर्ता गरिएको कोभिडविरुद्धको खोपसमेत उपयोग गर्न सकिने उनको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..