केपी शर्मा ओलीले आज (शनिबार) आफू पक्षीय सभालाई सम्बोधन गर्न विराटनगर जाने भएका छन्। उनी पक्षीय सभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली विराटनगर जान लागेको आयोजक समितिले जनाएको छ।
विराटनगरको विराट नर्सिङ होम अगाडि हुने आमसभाको तयारीका लागि मञ्च व्यावस्थापन‚ सहभागी बस्ने ठाँउको व्यावस्थापन सकिएको आयोजकले जानकारी दिएको छ।
कार्यक्रमलाई सफल बनाउनका लागि नेकपाले यसअघि नै बृहत् मोटरसाइकल र्याली तथा मार्चपास गरिसकेको छ।
आज हुने कार्यक्रममा ओली समूहको नेकपा प्रदेश कमिटीका अध्यक्ष देवराज घिमिरेको संयोजकत्वमा १ हजार १ सय ११ सदस्यीय जनपरिचालन मूल कमिटी गठन गरिएको जनाइएको छ।
आजको कार्यक्रममा प्रदेश नम्बर १ बाट १ लाखभन्दा बढी मानिसहरू जनभासमा उतार्ने तयारी रहेको आयोजकले जनाएको छ। विशेष गरेर मोरङ, सुनसरी, झापा, इलाम, धनकुटा, भोजपुर र उदयपुरबाट बढी मानिस ल्याउने गरी तयारी भईरहेको छ ।
सभामा प्रधानमन्त्री ओलीसहित गृहमन्त्री राम बहादुर थापा बादल, नेता सुवाष नेम्वाङ, प्रदेशका मुख्यमन्त्री शेरधन राईलगायत अन्य नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको कार्यक्रम आयोजक समितिले जानकारी दिएको छ।

