सप्तरी सदरमुकाम राजविराजमा शुक्रबार राजावादीहरुले एक कार्यक्रम आयोजना गरि राजासहितको हिन्दु अधिराज्य स्थापनामा जोड दिएका छन् ।
पूर्वरानी कोमलको ७१ औं शुभजन्मोत्सवको अवसर पारेर लोक कल्याणकारी जनता पार्टी नेपाल तथा २०४७ को संविधान पुनःस्थापना हाम्रो अभियान नामक संस्थाले संयुक्त आयोजना गरेको कार्यक्रममा बोल्दै उनीहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा अभियानका संयोजक समेत रहेका लोक कल्याणकारी जनता पार्टी नेपालका अध्यक्ष किशोरी महतोले मुलुकको वर्तमान अवस्था जटिल मोडमा पुगेको बताउँदै यसलाई निकास दिनका लागि राजासहितको हिन्दु अधिराज्यको विकल्प नरहेको बताए ।
राजनीतिमा आएको बिचलन तथा हत्या, हिंसा, बलात्कार लगायतका अपराधीक घटनाले वर्तमान सरकार र संविधान असफल भइसकेको दाबीका साथ उनले निकासका लागि अब राजासहितको हिन्दु अधिराज्य एक मात्र विकल्प रहेको जिकिर गरे ।
कार्यक्रममा सो पार्टीका संगठन विभाग प्रमुख सन्तबहादुर रुम्बाले देशको भयाभह अवस्थालाई हेरेर जनता आजित भइसकेको भन्दै अब राजासहितको हिन्दु अधिराज्यले मात्र मुलुक बचाउने दाबी गरे । उनले आगामी फागुन ३० गते एक कार्यक्रमको आयोजना गर्दै जनआन्दोलनको मिति घोषणा गर्ने तयारी समेत भएको जानकारी दिए ।
सोही कार्यक्रममा अभियानका सर्लाही संयोजक शैलेन्द्र सिंहले देशमा अनेक प्रकारका अपराधले गर्दा मुलुकै डुब्ने खतरा बढेको भन्दै पटक पटक सत्तामा पुगेका राजनीतिक दलबाट मुलुक संचालन हुन नसक्ने प्रमाणित भइसकेको बताउँदै अब जनताले नै अघि सरेर राजासहितको हिन्दु अधिराज्य निर्माणमा जुट्ने बेला आइसकेको बताए ।
रामटहल यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष डा. देवनारायण महतोका साथै किशुनदेव साह, सीताराम खत्वे, रबिन्द्र यादव, पण्डित रामकुमार शास्त्री, ई. सत्यनारायण यादवले पनि बोल्दै राजासहितको हिन्दु अधिराज्य स्थापनामा जोड दिएका थिए ।
कार्यक्रममा मुश्लिम समुदायबाट सहभागि रहेका कंचनरुप र डाक्नेश्वरी नगरपालिकाका मो उदुस शेख, अहमद अली, कयुम अली र अशोका जामिरले पनि राजासहितको हिन्दु अधिराज्य हुनुपर्ने आवश्यक रहेको धारणा राखेका थिए । मुश्लिम सहभागिबाट यस्तो धारणा आएपछि कार्यक्रममा सहभागि हिन्दु धर्मावलम्बीहरुबाट ताली बजाएर स्वागत र खुशी व्यक्त गरिएको थियो ।

