विभागीय टोली एपीएफ क्लबले राष्ट्रिय महिला लिग फुटबलमा कठिन जित निकालेको छ। सातदोबाटोस्थित एन्फा मैदानमा सोमबार भएको खेलमा एपीएफले नेपाल पुलिस क्लबलाई २–१ गोलले हरायो।
पुलिसको डर्बी भिडन्तमा एपीएफलाई कठिन जित दिलाउन रविना गोलेले एक गोल गरिन्। एपीएफले अर्को गोल पुलिसबाट आत्मघाती उपहार पाएको थियो। पुलिसका लागि अमृता जैसीले एक गोल फर्काइन्। अमृता प्लेयर अफ दी म्याच घोषित भईन्। उनले पाँच हजार रुपैयाँ पुरस्कार पाइन्। लिगमा अपराजित यात्रा जारी राखेको एपीएफ शीर्षस्थानमा छ। एपीएफले १० खेलबाट ३० अंक बनाएको छ। दोस्रो स्थानमा रहेको अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबको २५ अंक छ। पराजित पुलिस १४ अंकसहित पाँचौं स्थानमा छ।
अर्को खेलमा विराटनगर महानगरपालिकाले वालिङ नगरपालिकालाई १–० गोलले स्तब्ध बनायो। वालिङको जितमा भारतीय खेलाडी आशा कुमारीले फ्रिकिक मार्फत निर्णायक गोल गरिन्। विराटनगरकी गोलरक्षक कल्पना कार्की प्लेयर अफ दी म्याच भईन्। उनले पाँच हजार रुपैयाँ पुरस्कार पाइन्। जितसँगै १६ अंक बनाएको विराटनगर तेस्रो स्थानमा उक्लिएको छ। १४ अंक बनाएको वालिङले चौंथो स्थानमा छ।
फागुन ७ सम्म चल्ने लिगको विजेताले १५ लाख, उपविजेताले आठ लाख, तेस्रोले पाँच लाख र चौथो हुने टोलीले तीन लाख रुपैयाँ प्राप्त गर्नेछन्। यसैगरी सर्वोत्कृष्ट खेलाडीलाई स्कुटर र व्यक्तिगत विधाका विजेतालाई जनही ५० हजार रुपैयाँ प्रदान गरिने आयोजक एन्फाले जनाएको छ।

