काठमाण्डौ – नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकरण भएको छ । बैंक र नेप्सेबीच प्रति कित्ता एक सय रुपैयाँ मुल्य कायम भएको २० करोड कित्ता शेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको छ ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आठ करोड कित्ता शेयर सर्वसाधारण, कर्मचारीहरु र सामूहिक लगानी कोषका लागि बिक्री खुला आह्वान गरेको र बैंकका संस्थापकहरुले लगानी गरेको १२ करोड कित्ता शेयरसमेत गरी जम्मा २० करोड कित्ता शेयर वितरण भएर नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकरण भएको छ ।
शेयर सूचीकरण सम्झौतापत्रमा नेपाल स्टक एक्सचेन्जको तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउद र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले हस्ताक्षर गर्नुभएको हो ।
नेपाल स्टक एक्सचेन्ज र नेपाल इन्फ्रास्ट्रक्चर बैंकबीच सम्झौता भएको दोस्रो दिन अर्थात् आउँदो आइतबारदेखि नेपाल स्टक एक्सचेन्जमा बैंकको धितोपत्र “NIFRA” काे कोडबाट दोस्रो बजारमा कारोबार सुरु हुनेछ । बैंकले शेयर सूचीकरणपछि दिनुपर्ने शेयर रजिस्ट्रार सेवाका लागि ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ ।

