परराष्ट्रमन्त्रीको भारत भ्रमण : कोरोना खोप ‘प्राथमिकतामा’

द्वारा प्रकाशित गरिएको हो |
२०७७ पुष २८, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट
फाईल तस्विर

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको बिहीबारबाट हुने दिल्ली भ्रमणमा कोरोना खोप आपूर्तिको विषयले उच्च प्राथमिकता पाउने देखिएको छ । ज्ञवालीले नेपाल–भारत मन्त्रीस्तरीय संयुक्त आयोगको छैटौं बैठकका लागि भारत भ्रमण गर्न लागेका हुन् ।बैठकमा नेपाल र भारतबीच रहेका दुई दर्जनभन्दा बढी संयन्त्रमा हालसम्म भएका छलफल र तिनको प्रगति समीक्षा हुनेछ । त्यसका लागि दुवै पक्षबाट अन्तिम तयारी भइरहेको छ ।

आयोगको बैठक द्विपक्षीय संयन्त्रहरूमा हालसम्म भएका छलफलहरूको समीक्षामा सीमित हुने तर थाती रहेका विषयहरूको गाँठो फुकाउने सम्भावना ‘न्यून’ रहेको स्रोतको दाबी छ । भ्रमणका बेला दुई देशबीच कोरोनाविरुद्धको खोप आपूर्तिका सम्बन्धमा भने बृहत् छलफल हुने र निर्णय हुने सम्भावना रहेको बताइन्छ । ‘आयोगको बैठकमा छलफल त दर्जनौं विषयमा होलान् तर उपलब्धिका हिसाबले भ्रमण विशेषगरी खोपमा केन्द्रित होला जस्तो छ,’ स्रोतले भन्यो ।

चर्चामा आएजसरी, लिम्पियाधुरासम्म समेटिएको नेपालको नयाँ नक्सा वा ईपीजी प्रतिवेदनमा ‘निर्णायक’ कुराकानी हुन सक्ने संकेत देखिएको छैन । आयोग दुवै देशबीचका दुई दर्जनभन्दा बढी संयन्त्रमध्ये सबैभन्दा माथिल्लो हो । आयोगको पाँचौं बैठक गत वर्ष काठमाडौंमा भएको थियो । परराष्ट्रमन्त्री ज्ञवालीको भ्रमण टोलीमा परराष्ट्र, वाणिज्य, ऊर्जा र स्वास्थ्य सचिव पनि सहभागी हुनेछन् ।

नेपालले पहिलो चरणमा करिब २० प्रतिशत अर्थात् ६० लाख नागरिकलाई खोप दिने योजना बनाएको छ । त्यसका लागि आवश्यक पर्ने खोप खरिदका लागि ७ देशलाई कूटनीतिक नोटसमेत पठाइसकेको छ । आपूर्ति गर्न सहज हुने, हावापानी मिल्ने र पूर्वाधार पनि अनुकूल भएकाले नेपालले भारतमा उत्पादित खोपलाई प्राथमिकतामा राखेको छ । यसैले पनि परराष्ट्रमन्त्री ज्ञवालीको भारत भ्रमणका बेला यससम्बन्धमा निर्णयको अपेक्षा गरिएको हो । त्यसो त परराष्ट्रमन्त्री ज्ञवालीले भारतीय समकक्षी एस जयशंकरलाई खोप उपलब्ध गराउन पत्र लेखेका थिए । भारतले ज्ञवालीको भारत भ्रमणका बेला पहिलो चरणका ६० लाखमध्ये करिब दुई प्रतिशत (१ लाख २० हजार) नागरिकका लागि खोप अनुदान दिने घोषणा गर्ने सम्भावना छ ।

भारत सरकारले हालै मात्र अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनेकाद्वारा विकास गरिएको तथा भारतकै सिरम इन्स्टिच्युटले उत्पादन गरिरहेको कोभिसिल्ड र भारतकै भारत बायोटेक र भारतीय औषधि अनुसन्धान परिषद्को साझेदारीमा विकास गरिएको कोभ्याक्सिनलाई

आपत्कालीन प्रयोगका लागि अनुमति दिइसकेको छ । पहिलो चरणको खोप अभियान माघ ३ मा सुरु गर्ने निर्णय भइसकेको छ । नेपाली पक्षसँग खोपको भण्डारणलगायत विषयमा पनि भारतको चासो रहेको बताइएको छ । भारत सरकार सेरम र बायोटेकलाई आफ्नो उत्पादन नेपाल निर्यात गर्न दिन सकारात्मक रहेको र दुवै कम्पनीलाई खोप सहुलियत दरमा उपलब्ध गराउन आग्रह गरेको स्रोतको दाबी छ । भारत सरकारले दुवै कम्पनीसँग प्रतिडोज करिब दुई सय भारु पर्ने खोप खरिद गर्ने भएको छ ।

नेपाली पक्षले भने भारतबाट अनुदानभन्दा पनि समयमै आवश्यक खोप खरिद गर्ने विषयलाई प्राथमिकतामा राखेको छ । ‘हामीले अनुदानको बाटो हेरेका छैनौं । समयमा चाहेको जति खोप किन्न पाए त्यो नै ठूलो सहयोग हुनेछ,’ स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीले भने । भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य स्वयंले पनि सेरम र भारत बायोटेकका उच्च अधिकारीहरूसँग खोपका विषयमा छलफल गरिसकेका छन् । कोरोना खोपका सम्बन्धमा केही सकारात्मक परिणाम आउनेमा राजदूत आचार्य आशावादी छन् । ‘कोरोनाविरुद्धको लडाइँमा भारतले छिमेकलाई सहयोग गर्ने नीति लिँदै आएकाले भ्रमणका बेला केही सकारात्मक नतिजा आउनेमा आशावादी छु,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..