
विराटनगर महानगरपालिका– ५ का सन्तोष गुरागाईं चाँदनीचोकमा चियापसल चलाउँछन् । भारतमा केही वर्षको रोजगारीपछि फर्किएर उनले चियापसल सञ्चालन गरेको धेरै वर्ष भइसक्यो । दुई वर्ष अगाडि तुलसी बहुमुखी सहकारीमा उनले घरजग्गा बेचेर पैसा राखे । घरजग्गा बेचेर सहकारीमा राख्नुको कारण थियो, राम्रो ब्याज र छोरीलाई अध्ययनका लागि विदेश पठाउने कागजात मिलाउन ।
गुरागाईंले सुनसरी सीतागञ्जको १० कठ्ठा खेत र विराटनगर महानगरपालिका– ५ मा १० धुर जग्गामा बनेको घर बिक्री गरेर ९३ लाख रुपैयाँ सहकारीमा राखेका थिए । बचत जम्मा गरेर सहकारी सञ्चालक भागेपछि अहिले उनी रुनु न हाँस्नुको अवस्थामा छन् ।
घर ६३ लाखमा बेचें, सीतागञ्जको खेती पनि बेचेर सहकारीमा ९३ लाख रुपैयाँ राखेको थिएँ’ गुरागाईंले भने, ‘अहिले मसँग केही छैन ।’ उनलाई सहकारीले १४.४ प्रतिशत ब्याज दिने आश्वासन दिएको थियो । सहकारीका कर्मचारीले बचत रकम पाँच वर्षमा डबल हुने आश्वासन पनि दिएका थिए । ‘करोडपति बन्ने आशमा पैसा राखेको थिएँ’ उनले भने, ‘अहिले रोडपति भएको छु
सरकार गुहार्दै पीडित बचतकर्ता
तुलसी बहुमुखी बचत तथा ऋण सहकारी संस्थामा रकम राखेर पीडित भएकाहरुले बचत फिर्ताको वातावरण बनाउन सरकारलाई आग्रह गरेका छन् । सहकारीको जायजेथा र सम्पत्ति बेचेर बचत फिर्ताका लागि आग्रह गरेका हुन् ।
आइतबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै पीडितहरुले सहकारीका अध्यक्ष केदार शर्मालाई तुलसी सहकारीको ठगी प्रकरणको अनुसन्धान गर्न विराटनगर ल्याउन पनि माग गरे ।
पीडित रुद्रबहादुर अधिकारीले पहिलो उजुरी विराटनगरमा परेका कारण अध्यक्षलाई विराटनगर ल्याएर पनि अनुसन्धान गर्न माग गरिएको बताउँछन् । बचतकर्तालाई प्रभावित पार्ने कर्मचारीलाई पनि पक्राउ गरी कारबाहीको दायरामा ल्याउन उनीहरुको माग छ ।