सभामुख र अर्थमन्त्रीद्वारा बाह्रबिसे तातोपानी सडक र नाका क्षेत्रको अवलोकन

द्वारा प्रकाशित गरिएको हो |
२०७८ कार्तिक २३, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट
फाईल तस्विर

सभामुख अग्निप्रसाद सापकोटा र अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले सोमबार अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको बाह्रबिसेदेखि नेपाल–चीन सीमा नाका मितेरी पुलसम्म स्थलगत अवलोकन गरी सो क्षेत्रको वर्तमान अवस्थाबारे जानकारी लिनुभएको छ ।

उहाँहरुले २०७७ साल असार २४ गते राति आएको बाढी र पहिराले पुरिएको जम्बु बस्ती क्षतिग्रस्त सडक, पुल र सो क्षेत्रको अवलोकन गर्नुभयो । त्यसपछि हरेक वर्ष पहिरो गएर सडक अवरुद्ध भइरहने इको एरिया, बाढीले क्षति पुगेको लिपिङ पुल र नेपाल–चीन सीमा क्षेत्र मितेरी पुलको अवलोकन गर्नुभयो ।

अवलोकनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठलगायतका सरकारी अधिकारीहरु, राजनीतिक दलका नेताहरु, सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, भोटेकोसी गाउँपालिकाका अध्यक्षलगायत जनप्रतिनिधिहरु, उद्योगी, व्यवसायीहरु र स्थानीयवासीको उपस्थिति थियो ।

अवलोकनका क्रममा उहाँहरुले भूकम्प, केही वर्षयताको लगातारका बाढीपहिराका कारण जीर्ण बनेको सडक र तातोपानी नाकाबाट हाल भइरहेको आयातनिर्यातबारे जानकारी लिनुभयो । अवलोकपछि सभामुख सापकोटा र मन्त्री शर्माले तातोपानी भन्सार कार्यालयमा आयोजित सडक पूर्वाधार तथा वाणिज्य व्यापारसम्बन्धी छलफलमा सहभागिता जनाउनुभयो ।

छलफलमा सभामुख सापकोटाले बाह्रबिसेदेखि तातोपानी नाकासम्मको सडकको पुनर्निर्माणलगायतका विकास कार्यलाई बहुवर्षीय योजनाका रूपमा लैजानुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले त्यसका लागि तत्कालीन, अल्पकालीन र दीर्घकालीन खाका बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । नेपाल–चीन सम्बन्धमा ऐतिहासिक महत्व बोकेको, जन्ती मार्गसमेत भनिने यो नाकालाई अन्य नाकासँग तुलना गर्न नमिल्ने भन्दै उहाँले सो क्षेत्रको सुधारबाट राज्यले ठूलो फाइदा लिन सक्ने बताउनुभयो ।

भूकम्प, बाढी र पहिरोजस्ता विपत्तिका कारण बाह्रबिसेदेखि तातोपानीसम्मको सडक व्यवस्थित गर्न चुनौती भएको उहाँको भनाइ थियो । सभामुख सापकोटाले सीमा नाकाबाट आयातनिर्यात सहजीकरणका लागि चिनियाँ अधिकारीहरुसँग छलफल भइरहेको जानकारी दिँदै छिट्टै थप सहज हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले सो सडकखण्ड सुधारका लागि सरकारी प्रतिबद्धताअनुसार परिणाम आउने गरी काम अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

छलफलमा अर्थमन्त्री शर्माले सडक सुदृढीकरण र नाका व्यवस्थित गर्न सरकारले काम अघि बढाउने जानकारी दिनुभयो । उहाँले सो क्षेत्रको सडक निर्माणका लागि अर्थ र भौतिक मन्त्रालयका सचिवले समन्वय गरेर कार्य गर्न निर्देशन दिनुभयो ।

भन्सार विभागका महानिर्देशकसहितको सो छलफल भूकम्प, बाढी र पहिरोका कारण बिग्रेको अरनिको राजमार्गअन्तर्गत बाह्रबिसे तातोपानी खण्डको व्यवस्थित निर्माण र नाकाको सहज सञ्चालनमा केन्द्रित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..