बाढीले क्षतिग्रस्त भएको मेलम्ची खानेपानी आयोजना पुनर्स्थापनाको काम दशैंलगत्तै अघि नबढ्ने भएको छ । आगामी वैशाखसम्म पानी ल्याउने योजनाअनुसार दशैंलगत्तै काम शुरू गर्ने भनिएपनि नयाँ ठेक्का लगाउनेबारे अहिलेसम्म निर्णय भएको छैन ।
खानेपानी तथा सरसफाइ मन्त्रालयले विशेष परिस्थिति भनी छोटो प्रक्रियाबाट ठेक्का लगाउन अनुमति माग्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा कार्ययोजना प्रस्ताव पठाएको थियो ।
र, यसबारे मन्त्रिपरिषदले निर्णय गर्न ढिलाइ गर्दा आयोजना पुनर्स्थापनाको काम कहिलेबाट शुरु हुन्छ भन्ने अन्योल भएको हो । बाढीग्रस्त आयोजनालाई फेरि मर्मत गरेर सञ्चालनयोग्य बनाउन सरकारले नै थप लगानी गर्नुपर्ने हुन्छ । त्यसका लागि आयोजनाले दुई किसिमबाट काम अघि बढाउन सरकारसँग प्रस्ताव गरेको थियो ।
मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक बासु पौडेल आफूहरु आयोजनाको मुहानसम्म पहुँचमार्ग तत्काल नबनेपनि नदी किनारबाटै आवश्यक मेसिन लगेर काम शुरु गर्नुपर्ने बताउँछन् । अस्थायी संरचना तयार गरेर काठमाडौंमा पानी ल्याउनु धेरै असहज नभएको उनको भनाइ छ । मन्त्रिपरिषदबाट छिटो निर्णय गरेर ठेकदारलाई कार्यस्थलमा छिटो परिचालन गर्न दशैंपछि मन्त्रालयमा थप छलफल हुने उनले बताए ।
‘नदीले पुरेको आयोजनाको महुनास्थल सफा गर्ने कामका लागि भने नयाँ ठेक्का लगाउनुपर्छ, अस्थायी संरचना बनाएर विगतकै जसरी सुरुङमा पानी हाल्ने काम भने साविककै सिनो हाइड्रोले गर्छ,’ उनले भने, ‘काम अघि बढाउने प्रस्ताव मन्त्रिपरिषदमा पठाएका छौं, सरकारको निर्णयपछि काम शुरु हुन्छ ।’

