तर नेकपा एमाले छाडेर नेता माधवकुमार नेपालले नेकपा (एकीकृत समाजवादी) गठन गरिसकेका छन् । माधव नेपाललाई साथ दिँदै वाग्मती प्रदेशसभाका पनि कतिपय सांसद नेकपा एकीकृत समाजवादीमा गएका छन् ।
संविधानअनुसार सत्तारुढ दल विभाजन भएमा मुख्यमन्त्रीले ३० दिनभित्रमा प्रदेशसभामा विश्वासको मत लिनुपर्छ । वाग्मतीमा १०९ प्रदेश सांसदमध्ये एमालेबाट सभामुखसहित ५६ जना छन् । हालको अवस्थामा दुईजना मात्र एमाले सांसदले अर्को दल रोजेमा मुख्यमन्त्रीको पद धरापमा पर्ने निश्चित छ ।
नयाँ दल दर्ता भएको औपचारिक पत्र प्रदेशसभामा भने आइसकेको छैन । एमालेबाट सामाजिक विकास मन्त्री समेत रहेका कृष्णप्रसाद शर्मा खनाल, राजेन्द्र पाण्डे, मुनु सिग्देल, बसुन्धरा हुमागाईं र लक्ष्मण लम्साल नेकपा समाजवादीको रुपमा खुलिसकेका छन् ।
दल विभाजन अध्यादेश अनुसार कुनै दल विभाजित भई बनेको नयाँ दल रोज्ने सांसदले दल दर्ता भएको २१ दिनभित्र निवेदन दिनुपर्नेछ । बुधबार नेकपा एकीकृत समाजवादी दल दर्ता भएपछि २१ दिनसम्म प्रदेशसभा सदस्यले दल रोज्न पाउनेछन् । वाग्मती प्रदेशसभामा यो पार्टीमा कति सांसद हुनेछन् भन्ने टुंगो लाग्न भने २१ दिन कुर्नुपर्नेछ ।
वाग्मती प्रदेशसभामा नेकपा एमालेका ५६ सांसदमध्ये ओली पक्षका ३४ र नेपाल पक्षका २२ सांसद थिए । प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रका २३, विपक्षी दल नेपाली कांग्रेसका २२ सांसद छन् । साना दलहरु नेपाल मजदुर किसान पार्टीका ३, विवेकशील साझा पार्टीका ३, राप्रपाका २ र स्वतन्त्र एक सांसद छन् ।
केन्द्रमा कांग्रेस र माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको एउटै गठबन्धनमा भएका कारण प्रदेशमा पनि सोही गठबन्धन हुने निश्चित छ । कांग्रेस र माओवादी एमालेसँग नमिल्दा साना दललाई मात्र समेटेर एमालेले सरकार बनाउन सक्ने अवस्था छैन ।
मुख्यमन्त्री शाक्य भने पदमा रहेर आइपर्ने सम्पूर्ण समस्या बुझेर अघि बढ्ने बताउँछिन् । ‘एकताको लागि मुख्यमन्त्री पद स्वीकार गरेर एमालेमा समाहित भएँ, अबको अवस्था पनि बुझेर अघि बढ्छु’ उनले भनिन्, ‘अहिले एमालमै छु, प्रदेशको राजनीतिको अवस्था बुझ्दै छु परिस्थितको मूल्यांकन गरेर अघि बढ्छु ।’

