कांग्रेस केन्द्रीय कार्यालय एक महीनादेखि आफ्नै नेता-कार्यकर्ताको घेराबन्दीमा

द्वारा प्रकाशित गरिएको हो |
२०७८ श्रावण २९, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

नेपाली कांग्रेसको केन्द्रीय कार्यालय आफ्नै पार्टीका नेता, कार्यकर्ताको घेराबन्दीमा परेको छ । पार्टीको क्रियाशील सदस्यता सम्बन्धी विवाद पार्टी नेतृत्वले सम्बोधन नगरेका कारण सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालय एक महिनायता आफ्नै पार्टीका नेता र कार्यकर्ताको घेराबन्दीमा परेको हो ।

क्रियाशील सदस्यता वितरणमा भएको धाँधली छानबिन गर्ने आफूहरुको माग ३४ दिनसम्म पनि सम्बोधन नभएकाले पार्टी केन्द्रीय कार्यालयमा गरिएको धर्नालाई निरन्तरता दिन बाध्य हुनु परेको नेपाली कांग्रेस बाराका नेता उपेन्द्र यादवले बताए । उनले आफूहरुलाई न्याय नदिएसम्म जिल्ला नफर्कने बताए ।

यस्तै ३० दिनयता पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिँदै आएका रौतहट क्षेत्र नम्बर १ का नेता, कार्यकर्ताहरुले पार्टीको विधि र विधान विपरीत क्रियाशील सदस्यता वितरण गर्ने काम गरिएकाले त्यसको विरोधमा आफूहरु पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिने कामलाई जारी राख्न बाध्य हुनु परेको बताएका छन् । जिल्ला कार्य समिति रौतहटका कोषाध्यक्ष रामश्रीषप्रसाद साहले विधि र विधान विपरीत दिइएको क्रियाशील सदस्यता खारेज नभएसम्म आफूहरुको धर्नासहितको आन्दोलनलाई जारी राख्ने बताएका छन् ।

कैलाली क्षेत्र नम्बर १ का कांग्रेस नेता, कार्यकर्ताहरुले पार्टी केन्द्रले आफूहरुको माग सम्बोधन नगरेसम्म धर्नासहितको विरोधका कार्यक्रमलाई निरन्तरता दिने प्रतिक्रिया दिएका छन् । कैलाली क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति भुवनेश्वर अधिकारीले क्रियाशील सदस्यता वितरणमा आफूहरुमाथि गरिएको अन्यायको तत्काल सम्बोधन नभई धर्ना कार्यक्रमलाई अन्त्य गर्न नसकिने स्पष्ट पारे । उनले पार्टीको जारी केन्द्रीय कार्य समितिको बैठकले आफूहरुको मागलाई सम्बोधन गर्ने आशा व्यक्त गरे ।

कांग्रेसको क्रियाशील सदस्यता सम्बन्धमा देखिएको विवादका कारण पार्टीको वडा तहको अधिवेशन समेत रोकिएको छ । पार्टीको तल्लो तहको अधिवेशन रोकिएपछि आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने कांग्रेसको १४ औं महाधिवेशन पछि सार्नुपर्ने अवस्था आएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..