१२ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेश सभाको एमाले संसदीय दलको बैठक सुरु भएको छ । मंगलबार आपसी विवादका कारण बस्न नसकेको बैठक बुधबार बिहान साढे नौ बजेबाट सुरु भएको हो ।
बैठकमा २० जना प्रदेश सभा सदस्य सहभागी भएका छन् । सुदूरपश्चिम प्रदेश सभामा एमालेको तर्फबाट सभामुख सहित कुल २५ सदस्य रहेकोमा बैठकमा ४ जना अनुपस्थित छन् । अनुपस्थित हुनेमा ओली पक्षका सांसदहरू रतना थापा, ग्याल्बु बोहरा र लीलाधर भट्ट रहेका छन् भने माधव नेपाल पक्षकी सांसद चुनकुमारी चौधरी अनुपस्थित छिन् ।
सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने कि नलिने भन्ने सम्बन्धमा बैठकमा छलफल हुनेछ । यस विषयमा एमालेभित्र विवाद छ ।
एमालेको ओली पक्ष आफ्नै नेतृत्वमा सरकार गठनको कसरतमा रहे पनि एमालेकै माधव नेपाल पक्ष भने अहिलेकै सरकारलाई समर्थन दिने मनसायमा देखिन्छन् ।

