‘प्रधानमन्त्रीबाट संविधानको उल्लंघन भएकै हो’

द्वारा प्रकाशित गरिएको हो |
२०७८ जेष्ठ ११, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट
फाईल तस्विर

फागुन ११ गते सर्वोच्च अदालतबाट जुन फैसला आयो, त्यो राम्रो र संवैधानिक निर्णय थियो । त्यो नजिर नै हो । अहिलेको रिटलाई पनि राम्रो नजिर बनाउने अवसर छ ।

सभासद्ले माग दाबी गरे अनुसार सर्वोच्चले फैसला दिनसक्छ । सर्वोच्चले आफ्नो असाधारण अधिकार क्षेत्र प्रयोग गरेर परमादेश पनि जारी गर्न सक्दछ । अहिलेसम्म भएका असंवैधानिक निर्णयहरू हुन् त्यसलाई उत्प्रेषण मार्फत बदर पनि गर्न सक्छ । सर्वोच्च अदालतलाई संविधानले नै त्यो अधिकार दिएको छ ।

शुरूदेखि नै अदालतलाई त्यो अधिकार छ । यो अधिकारको सदुपयोग सर्वोच्च अदालतले गर्न सक्छ । जब कुनै पनि संवैधानिक पदाधिकारीले मौलिक हकको अथवा यस प्रकारका संवैधानिक प्रावधानहरूको उल्लंघन गर्छन् भने संवैधानिक दायित्वलाई ठीक ठाउँमा ल्याउन सर्वोच्च अदालतले आफ्नो असाधारण अधिकार क्षेत्र प्रयोग गर्नु नै राम्रो हुन्छ र गर्नुपर्दछ ।

धारा ७६(५) को आधारमा प्रधानमन्त्री नियुक्ति गर्न समर्थक सांसदको हस्ताक्षर सहित र सत्तारुढ दलको माधव नेपाल, झलनाथ खनाल र अन्य नेताहरू सशरीर उपस्थित भएर माग गरेका थिए ।

पटक–पटक प्रधानमन्त्रीहरूले आफ्नो विशेषाधिकार प्रयोग गरेर मन लागेको बेलामा जसरी संसद भंग गरे, त्यसलाई रोक्न धारा ७६ को व्यवस्था गरिएको हो । धारा ७६ ले के भन्छ भने सम्भव भएसम्म जनताद्वारा निर्वाचित प्रतिनिधिसभा भंग नहोस् । सकभर त्यसबाट सरकार बन्ने अवस्था बनोस् भन्ने त्यसको भावना हो ।

पटक–पटक संसद भंग गर्नु र निर्वाचन गर्नु न देशको स्थिरताको लागि राम्रो हुन्छ न जनताको अधिकारको रक्षा । आवधिक निर्वाचन हुनु राम्रो कुरा हो तर पटक–पटक आफ्नो व्यक्तिगत स्वार्थको लागि मुलुकलाई निर्वाचनमा लैजानु राम्रो होइन ।

त्यसकारण हाम्रो संविधानमा धारा ७६ मा राम्रो व्यवस्था छ । विगतमा प्रतिनिधिसभा पटक–पटक भंग भएको छ । यस सम्बन्धमा सर्वोच्च अदालतको फैसला पनि पटक–पटक आएको छ । संवैधानिक ‘नम्स’ र प्रजातान्त्रिक मूल्य र मान्यताको प्रयोग गर्ने हो भने संविधानमा यी धाराको विशेष व्यवस्था गर्न पर्दैनथ्यो किनभने बहुमतको सरकारले ती नम्सलाई पालन गरिरहेको हुन्छ ।

बेलायतमा प्रधानमन्त्रीको विशेषाधिकारको व्यवस्था छ तर त्यो दुरुपयोग भएको छैन । एक–दुई चोटि दुरुपयोग गर्ने कोशिश भएको थियो, अदालतले रोकिदियो । सन् २०११ मा अदालतले रोकेको छ । त्यहाँ ‘नम्स’ लाई ‘फलो’ गरिएको छ, अदालतले हस्तक्षेप गरेको छ ।

निर्वाचित प्रतिनिधि हो, उनीहरूको अधिकार हुन्छ । जनताले जसलाई निर्वाचित गराएर पठाए त्यसलाई मान्नुपर्छ, जुन पार्टीलाई सरकार बनाउन भन्छन्, त्यसले सरकार बनाउनुपर्छ ।

अहिले चालिएको असंवैधानिक ‘स्टेप’ लाई रोक्नको लागि सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । त्यसमा सर्वोच्च अदालतले आफ्ना पुराना नजिर र सबै पक्षलाई फेरि विचार गरेर फैसला दिनुपर्छ । जनताको अधिकार सुरक्षा र प्रजातन्त्रलाई जोगाउन सर्वोच्च अदालतलाई दिइएको जिम्मेवारी, दायरा र असाधारण अधिकार उसले सदुपयोग गर्नुपर्छ ।

प्रधानमन्त्रीबाट विल्कुल संविधानको उल्लंघन भएको हो । उहाँ पहिला धारा ७६(२) को प्रधानमन्त्री हुनुहुन्थ्यो । त्यसपछि ७६(१) को प्रधानमन्त्री हुनुभयो । फेरि ७६(३) को पनि प्रधानमन्त्री हुनुभयो । ७६(३) को प्रधानमन्त्री भएर उहाँले विश्वासको मत लिन सक्दिनँ भन्नुभयो ।

पहिला धारा ७६(२) को प्रधानमन्त्री हुँदा उहाँले विश्वासको मत नै लिन सक्नुभएन, त्यतिवेला ९३ मत मात्रै आयो । सहज रूपले उहाँले धारा ७६ (५) लाई प्रयोग हुन दिनुपर्दथ्यो । त्यो उहाँले पत्रकार सम्मेलनमा भन्नु पनि भयो । उहाँले मार्गप्रशस्त गरेको भन्नुभयो जुन उहाँको प्रशंसनीय कदम थियो ।

तर, पछि आफैंले प्रशस्त गरेको बाटोलाई उहाँले नै भत्काइदिनुभयो । उहाँको बहुमत छैन भन्ने त दुईचोटि प्रमाणित नै थियो । एकपटक ७६ (२) को प्रधानमन्त्री हुँदा उहाँले विश्वासको मत लिंदा ९३ मत मात्र प्राप्त गर्नुभयो । अर्काेचोटि उपधारा ३ को प्रधानमन्त्री भएपछि उहाँले म विश्वासको मत आर्जित गर्न सक्ने अवस्थामा नै छैन भन्नुभएकै हो ।

दुईचोटि उहाँ विश्वासको मत लिन सक्ने अवस्थामा हुनुहुन्न भन्ने प्रमाणित भएको छ । पत्रकार सम्मेलनमा जुन मार्ग प्रशस्त गरेको भन्नुभएको छ, त्यसलाई म प्रशंसायोग्य ठान्छु । तर, आफैं मार्ग प्रशस्त गरेको बाटोलाई भत्काउनु त राम्रो कुरा भएन नि !

फेरि अर्काे पक्ष के छ भने धारा ७६(५) को सरकार नै बन्न दिएको अवस्था छैन, सरकार नै बनेको छैन । त्यसको लागि संसदलाई प्रयास नै गर्न दिइएको छैन । राष्ट्रपतिलाई कुनै सांसदको हस्ताक्षरमा विश्वास नलागेमा उपस्थित गराउन भन्न सक्नुहुन्थ्यो । त्यो पनि आधार सिर्जना गर्ने राम्रो कुरा हुन्थ्यो ।

त्यसमाथि ७६(५) अनुसार संसदबाट निर्वाचित प्रधानमन्त्रीले ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्छ । यो सबै संवैधानिक प्रावधान प्रयोग गर्न दिइएको छैन । त्यसैले यो असंवैधानिक ‘स्टेप’ भएको छ ।

प्रधानमन्त्रीज्यूहरूले एउटा के भावना राख्नुपर्छ भने यो संसद चल्नका लागि धारा ७६ का विभिन्न प्रावधान राखिएको हो, संसदलाई भत्काउनको लागि होइन । कम्तीमा संविधानमा भएका राम्रा कुराहरूलाई राख्नुपर्छ । केही नराम्रा छन् भने त्यसलाई संशोधन गर्नुपर्छ ।

अर्काे दृष्टिले हेर्दा संसद विघटनको सिफारिस गर्ने अधिकार ७६(५) अनुसार नियुक्त भएको प्रधानमन्त्रीलाई मात्र छ । ७६(५) अनुसारको प्रधानमन्त्रीले संसदबाट विश्वासको मत प्राप्त गर्न सकेन भने उसले विघटनको लागि सिफारिश गर्न पाउन हो । यो बाहेक अन्य प्रावधान छैन ।

ओली त पहिला ७६(२) र पछि ७६(३) को प्रधानमन्त्री हुनुहुन्थ्यो अनि त्यसमाथि पनि विश्वासको मत लिन नसकेको प्रधानमन्त्री ठहरिनुभयो उहाँ । त्यसकारण उहाँले संसद विघटन सिफारिस गर्न मिल्ने कुरै भएन ।

अदालतमा यी विषयहरू उठ्छन् र हाम्रो विश्वास वकिल मित्रहरूले जसरी पहिलाको मुद्दामा बहस गरेका थिए, उहाँहरूको एकदमै राम्रो बहस भएको थियो । हाम्रा वकिलहरूको राम्रो बहस गर्न सक्ने स्तर छ ।

त्यसमा हाम्रा विद्वान वकिलहरू सफल पनि हुनुभयो । उहाँहरू अहिले पनि सफल हुनुहुन्छ भन्ने मलाई पूर्ण रूपमा विश्वास छ । उहाँहरूको सफलताको लागि मेरो शुभकामना पनि छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..