सत्तारुढ नेकपा एमालेको विभाजन रोक्न जेठ ९ गते भएको अन्तिम प्रयास पनि असफल भएको छ । दोस्रो तहका नेताहरुले होटल याक एण्ड यतिमा भेला भएर एकता जोगाउने अन्तिम गृहकार्य गरेका थिए ।
एमालेलाई फुटबाट रोक्न ओली पक्षबाट एमाले नेताहरु सुवास नेम्वाङ, विष्णु पौडेल र प्रदीप ज्ञवाली लागि परेका थिए । त्यस्तै, माधव नेपाल पक्षबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र योगेश भट्टराई पनि त्यसैगरी जुटेका थिए ।
दुबै पक्षका ६ जना नेताहरुले होटल याक एण्ड यतिमा आइतबार चार घण्टा लामो अन्तिम गृहकार्य गरेका थिए ।स्रोतका अनुसार उनीहरुबीच साझ साढे ५ बजेदेखि ११ बजेसम्म भएको छलफल र गृहकार्यमा अध्यक्ष ओलीले के गर्ने र माधव नेपाल पक्षले के गर्ने भन्ने मोटामोटी ड्राफ्ट नै तयार भएको थियो । तर, सोमबारसम्म आइपुग्दा उक्त ड्राफ्ट काम नलाग्ने अवस्थामा पुग्यो ।
आइतबार रातिसम्मको यो प्रयास असफल भएसँगै अध्यक्ष ओलीले सोमबार माधव नेपाल पक्षका ११ जना नेताहरुलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेका छन् भने बाँकी १२ जनलाई पनि २४ घण्टे स्पष्टीकरण सोधेका छन्, जसमा घनश्याम भुसालसमेत परेका छन् ।

