५५ लाख सकियो तर बनेन बीपी प्रतिष्ठानको अक्सिजन प्लान्ट

द्वारा प्रकाशित गरिएको हो |
२०७८ जेष्ठ ९, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट
फाईल तस्विर

सुनसरी — कोरोना संक्रमितको संख्या बढिरहेका बेला धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अक्सिजन प्लान्ट चौथोपटक बिग्रेको छ ।

प्रतिष्ठानले आफ्ना विभिन्न वार्ड, आईसीयू, अप्रेसन थिएटर र सय बेडको कोभिड अस्पतालमा आफ्नै प्लान्टमा उत्पादित अक्सिजन आपूर्ति गर्दै आएको बताएको थियो । प्लान्टबाट अक्सिजन उत्पादन हुन छाडेपछि सुनसरीको खनार र दुहबीस्थित अन्य प्लान्टबाट अक्सिजन किनेर आपूर्ति गरिरहेको छ ।

करिब १५ महिनाअघि मात्र युनिसी इन्डिया र नेपालको डाइग्नोकेन इन्टरनेसनल कम्पनीमार्फत ३ करोड २४ लाख रुपैयाँ लागतमा उक्त प्लान्ट प्रतिष्ठानमा जडान गरिएको थियो । प्रतिघण्टा १६ सय लिटर अक्सिजन उत्पादन गर्ने दाबी गरिए पनि पूर्ण क्षमतामा उत्पादन हुन सकेको थिएन । पटकपटक बिग्रिएको उक्त प्लान्ट मर्मतमा हालसम्म ५५ लाख रुपैयाँ खर्च भइसकेको बताइएको छ । खरिद ऐन तथा नियमावलीअनुसार नभई उपकुलपति प्रा. डा. ज्ञानेन्द्र गिरीको मौखिक आदेशमा मर्मत गरिँदै आएको थियो । डाइग्नोकेनका संचालक विज्ञान अर्याललाई मर्मतसम्भारबापत केही दिनअघि मात्र ३० लाख रुपैयाँभन्दा बढी भुक्तानी दिइएको छ ।

डाइग्नोकेनले अक्सिजन प्लान्ट खरिदको बेला नै प्रतिष्ठानलाई अनावश्यक दु:ख दिएको भन्दै तत्कालीन उपकुलपति प्रा.डा. राजकुमार रौनियारले कालोसूचीमा राखेर कारबाही गर्ने प्रक्रिया स्वीकृत गरेका थिए । महालेखा परीक्षकको कार्यालय र प्रतिष्ठानभित्रकै खरिद प्रशासन, खरिद शाखा र कानुनी सल्लाहकारले समेत डाइग्नोकेनबाट उल्टै क्षतिपूर्तिस्वरुप ३२ लाख रुपैयाँ तिराउनू भन्ने टिप्पणी नै उठाइएको थियो । सोही डाइग्नोकेन कम्पनीलाई थप मर्मत–सम्भार गर्न २५ लाख रुपैयाँ निकासाको तयारी गरिरहेको बेला अक्सिजन प्लान्ट बिग्रन पुगेको हो । प्लान्ट मर्मत गर्न अर्यालले आफ्ना छोरा विजनलाई प्रतिष्ठानमा पठाएका छन् । तर उनले पनि बनाउन सकिरहेका छैनन् ।

प्रतिष्ठानको प्लान्टमा दुईवटा ठूलठूला अक्सिजन जेनेरेटर छन् । तीमध्ये एउटा अक्सिजन एक महिनाअघि पूरै बिग्रेको थियो । त्यसले अक्सिजन उत्पादन गर्न छाडेको थियो । तर पाँच दिनयता अर्को पनि बिग्रेपछि अक्सिजन उत्पादन ठप्प भएको छ । प्लान्टमा अक्सिजन उत्पादनका लागि रासायनिक प्रतिक्रिया गर्ने जियोलाइट कामै नलाग्ने भइसकेको स्रोतले बतायो ।

स्रोतका अनुसार प्लान्ट बिग्रेपछि अहिले सुनसरीका विनायक, मारुती, दुर्गा र भाजुरत्न अक्सिजन प्लान्टबाट दैनिक करिब ५० हजार रुपैयाँको अक्सिजन खरिद गरिँदै आएको छ ।

केही दिनअघि प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले प्रतिष्ठानको कोभिड अस्पतालमा अक्सिजन अभावले पाँच जना संक्रमितको मृत्यु भएको जानकारी आएको बताएका थिए । ‘यसबारे स्वास्थ्य मन्त्रालय, गृह र प्रदेशको सामाजिक विकास मन्त्रालयमा जानकारी दिएको छु,’ उनले भनेका थिए ।

प्रतिष्ठानका पदाधिकारीसँग सोधपुछ गर्दा उनीहरूले अक्सिजन अभावले ज्यान गएको घटनाबारे तथ्य पत्ता लगाउन आन्तरिक छानवीन समिति गठन गरेको बताएको प्रजिअ ढकालको भनाइ थियो ।

कोभिड अस्पतालमा जडान गरिएका आईसीयू, एचडीयू र अन्य विभिन्न बेडमा पुग्ने गरी विस्तार गरिएका पाइपलाइन, प्राविधिक डिजाइन र अक्सिजन प्लान्टले दिने प्रेसरमाथि नै शंका हुँदै आएको थियो ।

कोभिड अस्पतालभित्र बसेर संक्रमितको उपचारमा खटिएका अग्रपंक्तिका एक चिकित्सकले भने, ‘कागजी रुपमा आईसीयू, एचडीयू, मेडिकल उपकरण, अक्सिजन प्लान्ट र मेनिफोल्ड, पाइपलाइन विस्तार सबै ठीक छन् । तर वास्तविक र व्यावहारिक रूपमा विरामी बचाउने खालका देखिएका छैनन् । कमसल, काम चलाउ, देखावटी मात्र छन् ।’

प्रतिष्ठानले आफ्ना प्रवक्तामार्फत १५ आईसीयू बेड र भेटिलेटर, २५ एचडीयू बेडहरू अक्सिजनसहित चुस्त–दुरुस्त संचालनमा आइरहेको बताउन लगाउने गरे पनि अक्सिजन आपूर्तिमै समस्या भएको ती चिकित्सकले बताए ।

प्रतिष्ठानको विद्युतीय प्लान्टमा पनि समस्या छ । एकपटक विद्युत् गएपछि फेरि आउनका लागि कम्तीमा २ देखि ३ मिनेट लाग्ने गरेको छ । दैनिक २० पटकभन्दा बढी विद्युत आउने जाने समस्या छ । ती चिकित्सकले भने, ‘अक्सिजन प्लान्टबाटै शतप्रतिशत अक्सिजन उत्पादन र प्रेसर नहुँदा कोभिड अस्पतालमा अक्सिजनको भरमा रहेका संक्रमितका लागि एक मिनेट विद्युत बन्द हुनासाथ फेरि विद्युत आएर प्रसर दिएर ९० को तहसम्म अक्सिजन लेवल पुर्‍याउन १५ मिनेटभन्दा बढी लाग्छ । त्यतिन्जेलमा बिरामीको ज्यान गइसकेको हुन्छ ।’ प्रतिष्ठानको अक्सिजन प्लान्ट हेर्ने जिम्मा उपकुलपति गिरीले बायोमेडिकल इन्जिनियरलाई नभई इलेक्ट्रोमेड इन्जिनियर राहुल मिश्रलाई दिएका छन् ।

यसैबीच शनिबार बेलुका सवा ७ बजे प्रतिष्ठानले सहप्रवक्ता डा. चूडामणि पोखरेलका नाममा विज्ञप्ति जारी गर्दै अक्सिजन प्लान्ट बिग्रेका कारण सिलिन्डरले थेग्नेसम्मका कोभिड बिरामी मात्र भर्ना गर्न बाध्य भएको जनाएको छ । पोखरेलले क्षमताअनुसार अक्सिजन उत्पादन हुन नसकेपछि बिरामीलाई मेनिफोल्डबाट अक्सिजन सप्लाई भइरहेको बताए । उनले प्लान्ट पूर्ण क्षमतामा नचलेसम्म सिलिन्डरले थेग्न सक्ने जति मात्र बिरामी उपचार गर्नुपर्ने बाध्यात्मक अवस्था भएको बताए । उनले भने, ‘कोरोना संक्रमित भर्ना बन्द गरिहालेको छैन । हिजो पनि चार जना भर्ना भएका छन् । तर प्लान्ट पूर्ण क्षमतामा नचलेसम्म सिलिन्डरले जति थेग्न सक्छ, त्यति मात्र उपचार गर्नुपर्ने बाध्यात्मक स्थिति छ ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..