काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै १४९ सांसदको हस्ताक्षरसहित राष्ट्रपति निवास पुगेका विपक्षी गठबन्धनका नेताहरु पत्र दर्ता गरेर निस्किएका छन् ।
‘राष्ट्रपतिसमक्ष १४९ सांसदको हस्ताक्षर देखाएर, बहुमत प्रस्तुत गरेका निस्कियौं,’ कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले भने ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पनि १५३ सांसदको समर्थन दावी गरेको भन्ने विषयमा पौडेलले भने, ‘उहाँले हस्ताक्षर बुझाउनु भएको होइन । हामीले सांसदको हस्ताक्षरसहित दावी गरेका हौं । आज बिहानसम्म बहुमत नपुग्ने देखेर विश्वासको मत नलिइ नयाँ सरकार बनाउन मार्ग प्रशस्त गरेको हुँ भन्ने ओलीको अहिले कसरी बहुमत पुग्छ ?’
कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले पनि पत्र दर्ता गरेर निस्किएको बताए ।
‘प्रधानमन्त्रीमा राष्ट्रपतिले आह्वान गरेअनुसार संविधानकाे धारा ७६ काे ५ का लागि देउवाकाे नामसहित दाबी गरेका छाैं । समर्थकमा माओवादी अध्यक्ष पुषपकमल दाहाल, एमाले बरिष्ठ नेता माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र नेता बाबुराम भट्टराई तथा जनमोर्चाकी नेता दुर्गा पाैडेल हुनुहुन्छ । १४९ सांसदकाे हस्ताक्षर बुझाएका छाैं र राष्ट्रपतिले बहुमत रहेका देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुहुन्छ भन्ने विश्वास लिएका छाैं,’ खाँणले भने ।

