काठमाडौँ — नेकपा (एमाले) को माधवकुमार नेपाल पक्षले आफ्ना माग पूरा गर्ने प्रतिबद्धताका लागि अध्यक्ष केपी शर्मा ओलीलाई सोमबार बिहान ९ बजेसम्मको ‘अल्टिमेटम’ दिएकोमा दुवै पक्षबीच थप सहमति जुट्न सकेको छैन ।
आइतबार बेलुकी सिंहदरबारमा बसेको झलनाथ खनाल-माधव नेपाल समूहका सांसदहरूको बैठकले २०७५ जेठ २ अनुसार पार्टी फर्काउने र आगामी दिनमा पार्टी सहमतिमा चलाउने प्रतिबद्धताका लागि अध्यक्ष ओलीलाई सोमबार बिहानसम्मको समय दिने निर्णय गरेको थियो ।
केपी ओलीका तर्फबाट अहिलेसम्म कुनै जवाफ नआएको नेपाल पक्षका एक नेताले बताए । उनका अनुसार हिजोदेखि सोमबार बिहानसम्म ओलीसँग नेपाल पक्षका कुनै नेताको भेट भएको छैन । यद्यपि दोस्रो तहका नेताबीच फोनमा कुराकानी भएको उनले बताए । ती नेताका अनुसार सहमति प्रयासकै लागि अहिले अर्थमन्त्री विष्णुप्रसाद पौडेल बालुवाटार गएका छन् । ‘जसरी पनि मिलाउने प्रस्ताव ल्याउनुस्, के हो प्रस्ताव भनेका छौं,’ उनले भने ।
प्रधानमन्त्री ओलीले सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिँदै छन् । ओलीको पार्टी र सरकार सञ्चालनको शैलीसँग असन्तुष्ट रहँदै आएको माधव समूहले अनौपचारिक रुपमा ओलीलाई विश्वासको मत दिनुको साटो सांसद सदस्यताबाटै सामूहिक राजीनामा दिएर नयाँ सरकार बनाउन विपक्षी दलहरुलाई सहज बनाउने निर्णय गरेको छ ।
औपचारिक निर्णय गर्नुअघि वरिष्ठ नेता माधव नेपालले शुक्रबार ओलीलाई ६ बुँदासहितको पत्रसमेत लेखेका छन् । नेता नेपालले पत्रमा सर्वोच्चले नेकपालाई एमाले र माओवादीको पुरानै अवस्थामा पुर्याएकाले एकीकरणअघि अर्थात् २०७५ जेठ २ को अवस्थाबाट क्रियाशील बनाउनुपर्ने सर्त राखेका छन् । त्यसयता ओलीले एमालेमा गरेका केन्द्रीय कमिटी विघटन तथा नेताहरुलाई गरिएको कारबाही र सांसदहरुलाई सोधिएको स्पष्टीकरणलगायत निर्णय खारेज गर्न माग गरेका छन् ।

