२३, वैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रण बाहिर गएको छ । राजधानी धनगढीका साथै कञ्चनपुरको महेन्द्रनगरसहितका ठूला शहर र घना बस्तीहरुमा कोरोना संक्रमण तीव्र फैलिएको छ ।
धनगढीको सेती प्रादेशिक अस्पताल संक्रमितले भरिएका छन् । सेती अस्पतालमा गतवर्ष स्थापना गरिएको कोभिड अस्थायी अस्पताल भरिएपछि संक्रमितहरुलाई इमर्जेन्सी वार्डमै राखेर उपचार गर्न थालिएको छ ।
‘बिरामीहरुलाई इमर्जेन्सी वार्ड, ग्यालरी र अस्पताल परिसरमा समेत राखेर उपचार गरिरहेका छौं,’ सेती प्रादेशिक अस्पतालको इमरजेन्सी वार्डका इन्चार्ज सिनियर अहेब भरत खातीले अनलाइनखबरसँग भने, ‘कोभिड
स्थिति नियन्त्रण बाहिर गइसक्यो
सेती अस्पतालका प्रमुख, मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डे अवस्था नियन्त्रण बाहिर गइसकेको बताउँछन् । यद्यपि स्रोत साधनको अभावका बीच स्वास्थ्यकर्मीले संक्रमितको ज्यान जोगाउने कोसिस गरिरहेको उनले बताए ।
‘स्थिति नियन्त्रण बाहिर गइसक्यो । अहिले भुईंमै राखेर भएपनि अक्सिजन दिनु ठूलो कुरा भएको छ,’ मेसु पाण्डेले अनलाइनखबरसँग भने, ‘भारतमा जस्तै सयौं विस्तरा राखेर अक्सिजन दिएर मानिसहरुको ज्यान जोगाउनुपर्यो ।’
अस्पतालबाहेक ३९ जना बिरामी छन् । सबैलाई अक्सिजन सपोर्टमा राखेका छौं । उनीहरुमध्ये ५/७ जनाको रिपोर्ट आउन बाँकी छ, अरु सबै संक्रमित हुन् ।’
तर अक्सिजन आपूर्तिमै समस्या देखिएको छ । अस्पतालले मालिका ग्यास उद्योगसँग अक्सिजन आपू्र्तिका लागि सम्झौता गरेको थियो । । ‘उद्योगकै प्रस्तावअनुसार दैनिक सय वटा सिलिन्डर उपलब्ध गराउने सम्झौता भएको थियो,’ प्रमुख मेसु पाण्डेले भने, ‘तर दैनिक ३०/३२ वटा सिलिन्डर मात्र दिइरहेको छ ।’
संक्रमितहरुलाई राख्ने ठाउँ नभएपछि अस्पतालको आँगनमा अस्थायी टेन्ट गाडिएको छ । अस्पताल प्रशासनको आग्रहमा नेपाली सेनाले बिहीबार अस्थायी टेन्ट बनाएको हो, जहाँ अस्पताल आउने विरामीको प्रारम्भिक चेकजाँच हुन्छ ।
मेसु पाण्डे भन्छन्, ‘कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिने बिरामीलाई इमर्जेन्सी वार्डमा पठाउँछौँ । अन्य बिरामीको ओपीडी नजिकै उपचार गर्ने व्यवस्था मिलाउदैछौं ।’
महाकालीको अवस्था फरक छैन
कञ्चनपुरको महाकाली अस्पतालको अवस्था पनि उस्तै छ । त्यहाँ पनि सेती अस्पतालमा जस्तै संक्रमितलाई भुईंमै राखेर उपचार गर्नु पर्ने अवस्था सिर्जना भएको छ ।
त्यसमाथि अक्सिजनको अभाव पनि छ । कोभिड- १९ फोकल पर्सनसमेत रहेका डा. गोविन्द रोकाया भन्छन्, ‘जनशक्ति जसोतसो व्यवस्थापन गरिरहेकै छौं । अक्सिजन नपाएर संक्रमितको मृत्यु हुने अवस्था आइसक्यो ।’
डा. रोकायाका अनुसार अस्पतालमा अहिले ५५ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । उनीहरु सबैलाई अक्सिजन सपोर्ट दिइएको छ । इमर्जेन्सी वार्ड र अस्पतालको ग्यालरीमा १५ जना शंकास्पद संक्रमितको उपचार भइरहेको छ । उनीहरुलाई पनि अक्सिजन सपोर्ट दिनुपरेको उनले बताए ।

