बन्ला त प्रधानमन्त्री ओलीविरुद्ध महागठबन्धन ?

द्वारा प्रकाशित गरिएको हो |
२०७८ बैशाख २३, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट
फाईल तस्विर

२३ वैशाख, काठमाडौं । प्रदेशबाट सुरु भएको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाको जनता समाजवादी पार्टी (जसपा) को एउटा धार (उपेन्द्र यादव र बाबुराम भट्टराई) पक्षको गठबन्धन राष्ट्रियसभा उपनिर्वाचनमा आइपुग्दा नेकपा एमालेको माधवकुमार नेपाल समूह पनि थपिएको छ ।

चार पक्षले बाग्मती प्रदेशतर्फ खुला सदस्यमा डा. खिमलाल देवकोटालाई अघि सारेका छन् । गृहमन्त्री रामबहादुर थापा बादल नेकपा एमाले प्रवेश गरेपछि रिक्त राष्ट्रियसभा सदस्य पदका ६ जेठमा हुने उपनिर्वाचनमा हुँदैछ । उपनिर्वाचनमा बादल नै उम्मेद्वार बन्ने जानकारी एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन आयोजक कमिटी बैठकलाई १० वैशाखमै दिएका छन् । माओवादी छोडेपछि बादल सूर्य चिन्हबाट चुनाव लड्दैछन् भने एमाले पृष्ठभूमिका देवकोटा चाहिँ हसियाँ हथौडा चिन्ह लिएर मैदानमा उत्रनेछन् ।

एक नेताका अनुसार एमालेको माधव नेपालतर्फ उभिँदै देवकोटा साझा उम्मेद्वार बन्न लागेका हुन् । बागमती प्रदेशको नीति तथा योजना आयोग उपाध्यक्ष नियुक्त देवकोटाले मुख्यमन्त्री डोरमणि पौडेलसँग असहमति जनाउँदै राजीनामा दिएका थिए । उनै देवकोटा साझा उम्मेद्वार बन्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

विशेषगरी प्रधानमन्त्री ओलीविरुद्ध गठबन्धन गर्ने प्रयासमा रहेका दलहरुले बादलविरूद्ध साझा उम्मेद्वार तय गर्नुलाई निकट राजनीतिक घटनासँग पनि जोडेर हेरिएको छ । एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले विश्वासको मत लिन चाहेपछि संसदको विशेष अधिवेशन २७ वैशाखमा बोलाइएको छ ।

प्रमुख प्रतिपक्षी कांग्रेसले प्रधानमन्त्री ओलीको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ भने माओवादी केन्द्रले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । जसपाभित्र महन्थ ठाकुर–राजेन्द्र महतोहरुसँग फरक मत राखिरहेका बाबुराम भट्टराई र उपेन्द्र यादव पक्ष पनि ओली सरकारको विपक्षमा छ भने एमालेभित्र अलग संगठनात्मक संरचना बनाएको माधव नेपाल समूहमा सामूहिक राजीनामा दिने निष्कर्ष नजिक पुगेको छ ।

यस्तोबेला राष्ट्रियसभा उपचुनाव बनेको गठबन्धन प्रधानमन्त्री ओलीविरुद्ध पनि कायम रहनसक्ने नेताहरुले बताउँछन् । ‘केपी ओलीको स्वेच्छचारी सरकारविरुद्ध दलहरू एक हुनुपर्छ भन्ने हाम्रो प्रयत्न हो । कांग्रेसको निर्णयले कोर्स त्यसतर्फ बढेको छ’, माओवादी केन्द्रका स्थायी कमिटी सदस्य लीलामणि पोखरेल भन्छन् ।

काँग्रेस केन्द्रीय सदस्य डा.नारायण खड्का पनि वर्तमान सरकारको विकल्प खोज्नुपर्छ भन्नेमा आफूहरु प्रष्ट रहेको बताउँछन् । कर्णाली प्रदेशसभामा फ्लोस क्रस गरेको नेपाल समूहले पनि स्पष्टीकरण र कारबाहीको चेतावनीका बीच गठबन्धनमा सामेल हुने संकेत दिएका छन् । एमाले नेता माधवकुमार नेपाल पनि कांग्रेस, माओवादी केन्द्र, जसपा लगायत दलहरुसँग सम्वादमा सक्रिय छन् । ‘केपी ओलीकै कारण यो परिस्थिति सिर्जना भएको छ । वार्ता र सम्वाद त सवै पक्षसँग हुन्छ नि’, नेपाल निकट नेता बेदूराम भुसाल भन्छन् ।

अझ नेता नेपाल निकटकै नेतालाई बादलविरुद्ध उम्मेद्वार बनाउने सहमतिले ओलीलाई झस्काउको अनुमान गर्न सकिन्छ । विश्वासको मतको विपक्षमा उभिने निर्णय गरेको कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न प्रधानमन्त्री ओली उनकै निवास बुढानीलकण्ठ पुग्नुले पनि त्यो प्रष्ट हुन्छ ।

प्रदेशमा पहिल्यै गठबन्धन !

प्रतिनिधिसभा विघटन गर्ने ओलीको कदम कोरिन थालेको महागठबन्धनको प्रयास प्रदेशसभाहरुमा यसअघि नै देखिएको थियो । ३ वैशाखमा माओवादी केन्द्रका नेता एवम् कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई हटाउने ओली निकट नेता यमलाल कँडेलको प्रयास गठबन्धन बनेकै कारण असफल भएको थियो । त्यहाँ शाहीको पद जोगाउन काँग्रेस, माओवादी र माधव नेपाल समूह एकठाउँ उभिएको थियो । एमाले पार्टीको ह्वीप बिपरीत फ्लोर क्रस गरेकाले ओलीले पाँच प्रदेश सांसदलाई निस्कासन नै गरेका छन् ।

कर्णालीपछि गण्डकी र लुम्बिनीमा पनि ओली समूहलाई एक्ल्याउने प्रयत्न भइरहेको छ । गण्डकी र लुम्बिनीमा माधव नेपाल समूहका सांसदहरूको भूमिका निर्णायक छैनन् । यद्यपि, बाँकी दलहरु मिल्दा गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र लुम्बिनीका मुख्यमन्त्री पोखरेलको पद संकटमा परेको छ ।

लुम्बिनीको घटनाक्रम त अझ रोचक बन्दै गएको छ । जसपा लुम्बिनीमा पार्टी केन्द्रको असर पुग्दा चार सांसद पदमुक्त भएका छन्, जसलाई मुख्यमन्त्री पोखरेलले मन्त्री नियुक्त गरेका छन् । तर पोखरेलकै निकट सांसदहरुले धमाधम राजीनामा दिदै गठबन्धनलाई सहयोग पु¥याइरहेका छन् । १९ वैशाखमा दृगनारायण पाण्डेयले एमाले र सांसद पदबाट राजीनामा दिएर काँग्रेस बन्दै राष्ट्रियसभा सदस्यको उम्मेद्वार बनेको तीन दिनपछि एमालेका अर्का सांसद अमरबहादुर डाँगी क्षेत्रले बुधबार राजीनामा दिए । मूख्यमन्त्री पोखरेलकै गृहजिल्ला दाङ २ (ख) बाट निर्वाचित सांसद हुन्, डाँगी । यसअघि दाङबाटै निर्वाचित विमला वलीले माओवादी केन्द्र रोजेकी थिइन् ।

यसले ओलीविरुद्ध एकपछि अर्को राजनीतिक घटनाक्रममा गठबन्धन बन्ने संकेत बनाउँदै लगेको छ ।

नयाँ सरकार गठनसम्म पुग्ला गठबन्धन ?

नेताहरुका अनुसार यो गठबन्धन कहाँसम्म पुग्छ भन्ने प्रष्ट चित्र भने आइसकेको छैन । खागसरी नयाँ सरकार गठनसम्म जान्छ कि जान्न भन्ने अझै टुंगिएको छैन ।

अहिलेसम्मको घटनाक्रम हेर्दा २७ वैशाखमा प्रधानमन्त्री ओलीले विश्वासको मत नपाउने सम्भावना बढ्दै गएको छ । कांग्रेस र माओवादी केन्द्रले निर्णय गरिसकेको छ भने जसपाको बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षका १६ सांसद पनि विश्वासको मत नदिन तयार छ । एमालेको माधवकुमार नेपाल समूहमा सामूहिक राजीनामा गर्नुपर्ने मतमा लगभग सहमति देखिन्छ ।

जसपाको महन्थ ठाकुर—राजेन्द्र महतो पक्षमा पनि तटस्थ बसेर पार्टी फुट टार्नुपर्ने मत देखिएकाले प्रधानमन्त्रीले विश्वासको मत पाउने छैनन् भन्ने अनुमान गर्न गाह्रो छैन ।

तर त्यसपछि के हुन्छ भन्ने अन्यौल कायमै छ । नेताहरु अविश्वासको प्रस्ताव दर्ता गर्ने र प्रधानमन्त्री ओलीले विश्वासको मत नपाएपछि नयाँ सरकार गठनका लागि दावी गर्ने प्रस्तावमा छलफल भइरहे पनि सहमति भइसकेको छैन । कांग्रेस सभापति शेरबहादुर देउवा तत्काल चुनावमा जान चाहन्छन् र, उनी सहमत नहुँदासम्म नयाँ सरकार गठनको प्रयास सफल हुने देखिन्न । त्यही बुझेका प्रधानमन्त्री ओलीले बुधबार देउवा निवासमा पुगेर आफूलाई मत मात्र मागेनन्, मत नदिने भए चुनावमा जान आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..