काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले बरु जीवन बलिदान गर्ने तर सहिदका सपना मर्न नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । शुक्रबार दिउँसो सरकारसँग भएको ३ बुँदे वार्तामा हस्ताक्षर कार्यक्रममा यस्तो प्रतिबद्धता व्यक्त
गरेका हुन् । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले शान्तिपूर्ण राजनीतिप्रति प्रतिबद्ध रहेको पनि बताएका छन् । तर, ६ वर्षअघि लिएको एकीकृत जनक्रान्तिको कार्यक्रम भने कायमै रहेको पनि उनले बताए ।
वर्तमान संसदीय प्रणालीमा रहेको कमजोरीको व्याख्या गर्दै वैज्ञानिक समाजवादबारे जनमत संग्रहको माग पनि राखेका छन् । सरकार र नेकपा वार्ता टोलीबिच भएको तीनबुँदे सहमतिमा हस्ताक्षर गर्न शुक्रबार राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै विप्लवल अहिलेको व्यवस्थाप्रति असहमत भएरै विद्रोहमा गएको सम्झिए ।
तर, सरकारसँग सहमतिमा आएपछि परिस्थिति बदलिएको संकेत गरेका उनले भने, ‘कम्युनिस्टहरू विद्रोह मात्र गर्दैनन्, जब परिस्थिति बदलिन्छ र राज्यले आफ्नो भूमिका पूरा गरेको स्थितिमा कम्युनिस्टहरू शान्तिका दूत पनि हुन् ।’
सरकारसँग भएको सहमतिप्रति कार्यान्वयन गर्नेमा विशेष जोड दिएका विप्लवले आफ्नो माग पूरा हुने वातावरण बनाउन पनि माग गरे । ‘आवश्यक पर्दा प्रत्यक्ष ढंगले नेपालको भविष्यबारे जनमत दिने अधिकार पाउनुपर्छ, हामी त्यसका लागि तयार छौँ’ उनले भने । जनताले कहिल्यै स्वतन्त्रतापूवर्क ‘स्टेप’ चाल्न नपाएको र कहिलेकाहीँ राज्य–सरकारले चाल्न खोज्दा पनि नहुने परिस्थिति रहेको उनले बताए ।
विप्लवले भने, ‘हाम्रो अहिले पनि भनाइ छ, नेपालमा आज कसैले पनि सुरक्षित अनुभूति गर्ने स्थिति छैन । सबै नेताहरूलाई, पार्टीहरूलाई र जनतालाई आफ्नो जीवनमाथि आफैँ हावी भएको÷नेतृत्व गरिरहेको अनुभूति भएको छैन ।
हरेक घटनाक्रममा एउटा ठूलो तरंग नेपाली जनताको बिचमा छ, अहिले पनि छ ।’ महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले आफूहरू शान्तिपूर्ण राजनीतिमा आए पनि कसैको हस्तक्षेप नस्वीकार्ने बताएका छन् । विप्लवले आफूहरू कसैको हस्तक्षेपसँग नझुक्ने बताए । ‘हामी खुला हुनुपर्छ ।
हामी खुला छौँ । हामी सहकार्य गर्न, हातेमालो गरेर अगाडि बढ्न तयार छौँ,’ विप्लवले भने, ‘तर हामी यहीँ पनि भन्छौँ, कसैले हामीलाई हस्ताक्षेप ग¥यो भने, कुनै विदेशीले हामीलाई हस्तक्षेप गर्न खोज्यो भने हाम्रो जीवन यो धर्तीमा गाडिन्छ, तर हामी झुक्ने छैनौँ । हाम्रो यो प्रतिबद्धता छ ।’ उनले छिट्टै साथीहरूसँग खुला आकाशमा मिलन हुने भन्दै खुसी पनि व्यक्त गरे ।

