बलात्कार आरोपमा ९४ वर्षीय पक्राउ

द्वारा प्रकाशित गरिएको हो |
२०७७ चैत्र ४, बुधबार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट
फाईल तस्विर

९४ वर्षका वृद्ध भन्नासाथ आफन्त वा लट्ठीको सहारामा हिँडडुल गर्ने, ओछ्यानमा सुतिरहने भनेर अनुमान गरिन्छ । तर यहाँका ९४ वर्षीय एक वृद्ध भने बलात्कार जस्तो जघन्य अपराधमा संलग्न भएको आरोपमा पक्राउ परेका छन् । सुस्त मनस्थितिकी २७ वर्षीया युवतीलाई जंगलमा लगेर बलात्कार गरेको आरोपमा पुतलीबजार नगरपालिका–१३ बिसौनाका हीराबहादुर घर्ती पक्राउ परेका हुन् । उनी जंगलमा रंगेहात पक्राउ परेको प्रहरीले जनाएको छ ।

युवतीका दाजुले गत फागुन २१ गते जंगलमा बहिनीसँग देखेपछि गाउँलेलाई बोलाएर वृद्धलाई नियन्त्रणमा लिएका थिए । प्रहरीले भोलिपल्टै मुद्दा दर्ता गरे पनि घटना बाहिर ल्याएको थिएन । ‘उहाँले आरोप स्विकार्नुभयो । यस्तो घटना बाहिर ल्याउँदा राम्रो हुँदैन भनेर कानुनी रूपमा अगाडि बढाए पनि सार्वजनिक गरेनौं,’ जिल्ला प्रहरी प्रमुख एसपी होविन्द्र बोगटीले भने । घर्तीलाई सामान्य रुघाखोकी लागेकाले चार दिनसम्म अस्पतालमा उपचार गराएर प्रहरी हिरासतमा राखिएको छ । घर्तीलाई प्रहरीले फागुन २२ मा पक्राउ गरेर भोलिपल्ट जिल्ला अदालतमा जबर्जस्ती करणी मुद्दा दर्ता गरी म्याद थपेको थियो । अहिले उनको स्वास्थ्य सामान्य रहेको प्रहरीले जनाएको छ । पीडित युवती परिवारको संरक्षणमा रहेको प्रहरीले जनाएको छ ।

यसैगरी, हरिनास गाउँपालिकाकी साढे १२ वर्षीया बालिका गर्भवती भएको ६ महिनापछि आफन्तबाटै बलात्कृत भएको खुलेको छ । ८ कक्षामा अध्ययनरत ती बालिका गाउँकै ३३ वर्षीय भेलबहादुर थापाबाट कात्तिक १२ गते साँझ बलात्कृत भएको प्रहरीले जनाएको छ । पीडित बालिकाले आफू गर्भवती भएको अहिले मात्रै थाहा पाएको बताइन् । विद्यालयबाट फर्किने क्रममा उनी बलात्कृत भएको पीडितकी आमाले बताइन् । बलात्कार आरोपित थापालाई प्रहरीले आइतबार पक्राउ गरेको छ । एसपी बोगटीका अनुसार थापालाई आइतबारै मुद्दा दर्ता गरी पाँच दिनको म्याद थप गरिएको छ । पीडित बालिकालाई अहिले प्रहरीकै संरक्षणमा स्याङ्जाकै एक होटलमा राखिएको छ । बालिकालाई जिल्ला अस्पतालमा उपचार गराएपछि थप उपचारका लागि सोमबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा पठाइएको उनले बताए । ‘बालिकाको पारिवारिक अवस्था पनि नाजुक रहेछ । सबैसँग खर्च जुटाएर उनको हेरचाह गर्ने, अस्पताल लाने, ल्याउने र बस्ने, खाने व्यवस्था मिलाएका छौं,’ एसपी बोगटीले भने ।

थापाले आफ्नै घरमा लगेर बलात्कार गरेको स्विकारेको प्रहरीले जनाएको छ । घटना गाउँमै मिलाउने प्रयास भएको प्रहरीलाई सूचना आएपछि थापालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बालिकाको गर्भपतन गराउने कि जन्माउन दिनेबारे चिकित्सकसँग परामर्श भइरहेको प्रहरीले जनाएको छ । ‘बालिकाले बच्चा जन्माउन पनि सक्दिनन्, गर्भपतन गराउन पनि २४ साता पुगेको छ,’ एसपी बोगटीले भने, ‘सुरक्षित डेलिभरी कसरी हुन्छ चिकित्सकको सल्लाहअनुसार अगाडि बढ्छौं ।’

यस्तै, विद्यालयबाट घर फर्किंदै गरेका वालिङकै ८ र ९ वर्षीया दुई बालिकालाई बलात्कार गरेको आरोपमा वालिङकै १७ वर्षीय किशोर पक्राउ परेका छन् । गत माघ १७ मा भएको उक्त घटनाका आरोपित किशोर प्रहरी हिरासतमा छन् । प्रहरीका अनुसार फागुनमा मात्र जिल्लामा पाँच जना बालिका बलात्कृत भएका छन् । आठ वर्षीया बालिका बलात्कार आरोपमा १४ वर्षीय किशोर पक्राउ परेका छन् । ६ वर्षीया बालिका बलात्कार आरोपमा चापाकोटका ५२ वर्षीय नामदेउ कुमाल पक्राउ परेका छन् । उनलाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको एसपी बोगटीले बताए । प्रहरीका अनुसार पछिल्लो समय अपत्यारिलो ढंगले आपराधिक घटना बढिरहेका छन् । ‘चालु आर्थिक वर्षमा १४ बालिकासहित २७ बलात्कृत भएका छन्,’ एसपी बोगटीले भने, ‘कोही आफन्त र कोही गाउँलेबाट बलात्कृत छन् । तीमध्ये चार जनालाई बलात्कार प्रयास भएको छ ।’

जिल्ला समन्वय समिति प्रमुख सीता सुन्दासले बालिका बलात्कारका घटना बढ्दै गएको बताइन् । ‘बलात्कारका घटना हेर्दा धेरैजसो घटनामा पीडक आफन्तै पर्छन्,’ उनले भनिन्, ‘आफन्त भनेर विश्वास मान्दा आफ्नै छोरी यौनको सिकार भएका छन् ।’ उनले माया गर्ने बहानामा नै बालिका आफन्तबाटै यौनशोषणमा पर्ने गरेको बताइन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

एक किलो सुनसहित तीन पक्राउ

एक किलो सुनसहित तीन पक्राउ

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट प्रहरीले करिब एक किलो सुनसहित तीन जनालाई पक्राउ गरेको छ । हिमालय एयरलाइन्सको उडानबाट दुबईबाट आएका काभ्रेका बाबुलाल दोङसहित तीन..