
काठमाडौं । ललितपुरको नख्खुदोबाटोमा गएराती साढे नौ बजे कण्टेनर र मोटरसाइकल आपसमा ठोकिदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कास्कीका ३७ वर्षीय गणेश प्रसाद अधिकारी रहेका छन् । नर्भिक अस्पतालमा उपचारको क्रममा गएराती ११ बजे उनको मृत्यु भएको हो ।
दुर्घटनामा मोटरसाइकलमा पछाडी सवार ललितपुर बस्ने ३२ वर्षीय रवि श्रेष्ठको अवस्था गम्भीर रहेको र सोही अस्पतालमा उपचार भइरहेको ललितपुर प्रहरीले जनाएको छ ।
एकान्तकुनाबाट ग्वार्कोतर्फ जाँदै गरेको ना २ ख ७५ ८३ नम्बरको कण्टेनर र विपरित दिशाबाट आउँदै गरेको वाग्मति प्रदेश ०२ ०१८ प ८३ ६९ नम्बरको मोटरसाइकल गएराती साढे नौ बजे आपसमा ठोकिएका थिए ।
दुवै सवारी साधन सहित कण्टेनर चालकलाई महानगरीय प्रहरी परिसर ललितपुरले नियन्त्रणमा लिइसकेको छ ।
यत्ता, बाँकेको नेपालगञ्ज उपमहानगरपालिका १५ बालेगाउँमा पनि गएराती मोटरसाइकलको ठक्करबाट आठ वर्षीया बालिकाको मृत्यु भएको छ ।
गएराती सवा नौ बजे घर अगाडी खेलिरहेकी स्थानीय मक्सुदा अलीकी छोरी गुलावसालाई भे ३ प ६९ ७१ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएकी बालिकाको उपचारको लागि अस्पताल लैजाने तयार गर्दागर्दै घरमै मृत्यु भएको बताइएको छ ।
दुर्घटना पश्चात फरार रहेका मोटरसाइकल चालकको खोजी भइरहेको बाँके प्रहरीले जनाएको छ ।