सुचीविरुद्ध पैसा र सुन लिएको आरोपमा मुद्दा

द्वारा प्रकाशित गरिएको हो |
२०७७ फाल्गुन २८, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट
फाईल तस्विर

यांगुन — म्यान्मारको सैनिक सरकारले लोकतन्त्रवादी नेत्री आङ सान सुचीविरुद्ध बिहीबार अर्को मुद्दा लगाएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार सरकारमा रहँदा सुचीले गैरकानुनी रूपमा ६ लाख अमेरिकी डलर र सुन लिएको आरोप लगाइएको हो । सेनाले फेब्रुअरी १ मा सत्ता कब्जा गरेयता सुचीविरुद्ध लगाइएको यो सबैभन्दा गम्भीर आरोप हो । यद्यपि, उनीविरुद्धको आरोपसम्बन्धी कुनै प्रमाण भने सार्वजनिक गरिएको छैन । सुचीले करिब साढे ६ लाख बराबरको सुन स्वीकार गरेकी सहायक रथी ज मिन तुनको दाबी छ । तुनले राष्ट्रपति विन मिन्ट र कैयौं मन्त्रीहरूलाई पनि भ्रष्टाचारको आरोप लगाएका छन् ।

यसअघि सुचीलाई गैरकानुनी रूपमा सञ्चार उपकरण राखेको, आयातसम्बन्धी कानुन उल्लंघन गरेको लगायतका ४ वटा मुद्दा लगाइसकिएको छ । सेनाले सत्ता हातमा लिएसँगै सुचीसहित उनको दल नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) का दर्जनौं नेताहरूलाई नियन्त्रणमा लिएको थियो । ७५ वर्षीया सुचीलाई मार्च १५ मा अदालत पेस गरिने जनाइएको छ । नोभेम्बरमा भएको चुनावमा व्यापक धाँधली गरेको तथा सरकारले आर्थिक हिनामिना गरेको आरोप लगाउँदै सेनाले सत्ता हातमा लिएको हो । उक्त चुनावमा सुचीको दल एनएलडी करिब ८० प्रतिशत मतसहित विजयी भएको थियो ।

फेब्रुअरी १ मा सेनाले शासन सत्ता हातमा लिएपछि म्यान्मारमा दैनिकजसो विरोध प्रदर्शन हुँदै आएका छन् । बिहीबार गरिएको प्रदर्शनका क्रममा प्रहरीको दमनका कारण कम्तीमा ८ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । योसँगै प्रदर्शनमा ज्यान गुमाउनेको संख्या करिब ७० पुगेको छ । माइङ सहरमा बिहीबार गरिएको प्रदर्शनमा प्रहरीले गोली चलाएपछि ६ जनाको मृत्यु भएको हो । ‘हामीले शान्तिपूर्ण रूपमा विरोध गरिरहेका थियौं,’ ३१ वर्षीय सहभागीले भने, ‘यस्तो घटना मलाई विश्वास नै लागिरहेको छैन ।’

त्यस्तै अर्का एक प्रदर्शनकारीको यांगुनमा ज्यान गएको हो । सामाजिक सञ्जालमा पोस्ट गरिएका तस्बिर तथा भिडियोहरूमा म्यान्डले सहरमा प्रदर्शनकारीका टाउकाबाट रगत बगेको देखिन्छ । त्यहाँ अर्का एक प्रदर्शनकारीले ज्यान गुमाएको बीबीसीले जनाएको छ । प्रदर्शनकारीहरूले निषेधाज्ञा उल्लंघन गर्दै बिहीबार पनि देशका प्रमुख सहरहरूमा विरोध जनाएका छन् । यांगुन, म्यान्डले, नेइपिडअलगायत सहरमा हजारौंको संख्यामा प्रदर्शनकारीले दैनिक विरोध प्रदर्शन गर्दै आएका छन् ।

बिहीबारको प्रदर्शनअघि अधिकारवादी समूह ‘एसिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स’ ले फेब्रुअरी १ यताका प्रदर्शनमा मृत्यु हुनेको संख्या ६० नाघेको र २ हजारभन्दा बढी पक्राउ परेका जनाएको थियो । संयुक्त राष्ट्रसंघका अनुसार पक्राउ पर्नेमा सांसद, पत्रकार, अधिकारकर्मीसमेत छन् । प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले घातक हतियार प्रयोग गरेको एम्नेस्टी इन्टरनेसनलले जनाएको छ । प्रदर्शन चर्केसँगै केही प्रहरी अधिकारीहरू म्यान्मारको पश्चिमी क्षेत्रबाट भागेर भारतको मिजोरम पुगेका छन् । सैनिक सरकारले प्रदर्शनकारीहरू नमरेसम्म गोली प्रहार गरिरहन आदेश दिएपछि आफूहरू भागेको प्रहरी अधिकारीको भनाइ छ ।

सैनिक सरकारले भने ‘कु’ पछि भारत भागेका प्रहरी अधिकारीलाई फिर्ता गर्न आग्रह गर्दै आएको छ । भारतलाई पठाइएको एक पत्रमा ‘मैत्रीपूर्ण सम्बन्ध कायम राख्न’ ती प्रहरी अधिकारी म्यान्मार सरकारसमक्ष बुझाउन आग्रह गरिएको छ । सैनिक ‘कु’ विरोधी प्रदर्शन चर्कंदै गएपछि अमेरिका, बेलायत, क्यानडा, संयुक्त राष्ट्रसंघ, युरोपेली संघलगायतले सैनिक नेतृत्वमाथि प्रतिबन्धहरू घोषणा गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..