सरकारसँग वार्ता कार्यदल बनेपछि जसपाभित्र कलह

द्वारा प्रकाशित गरिएको हो |
२०७७ फाल्गुन २६, बुधबार प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट
फाईल तस्विर

काठमाडौँ — भावी सत्ता समीकरणमा एकाएक निर्णायक शक्ति बन्न पुगेको संसद्को चौथो दल जनता समाजवादी पार्टी (जसपा) मा तीव्र अन्तर्विरोध सुरु भएको छ । अदालतले सत्तारूढ दलको एकीकरण प्रक्रिया खारेज गरेर पुरानै पार्टी एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि जसपामा सत्ता गठबन्धनकै विषयले आन्तरिक कलह उत्पन्न भएको हो ।

सांसद रेशम चौधरीको रिहाइलगायत मुद्दा र सत्ता समीकरणकै विषयमा छलफल गर्न सरकार र जसपाले कार्यदल बनाएको विषय मंगलबार नै सार्वजनिक भएपछि जसपाभित्र अन्तरविरोध बढेको हो ।

जसपा अध्यक्ष महन्थ ठाकुरले चौधरीको रिहाइका विषयमा छलफल गर्न भन्दै आइतबार नै दुई सदस्यीय कार्यदल बनाएको जानकारी अर्का अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र पार्टीका अधिकांश नेताले मंगलबार मात्रै पाएका थिए । ठाकुरले कार्यदल बनाएको जानकारी संसदीय दलको बैठकमा गराएका थिए ।

त्यसपछि बैठकमै नेताहरूबीच केहीछिन चर्काचर्की परेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीसँग गठबन्धन गर्न ठाकुरले पार्टीमा जानकारी नै नगराई कार्यदल बनाएको बुझाइ यादव पक्षको छ । यादव र भट्टराईसहित उनीपक्षीय नेताहरू कांग्रेस, माओवादी केन्द्र र जसपाबीच गठबन्धन गर्नुपर्ने पक्षमा छन् । चर्को विरोधपछि ठाकुरले संसदीय दलको बैठकमा सांसद चौधरीको रिहाइका लागि मात्रै कार्यदल गठन भएको दाबी गरेका थिए ।

तर, अन्तर्यमा यो कार्यदलले सत्ता गठबन्धनको विषयमा समेत छलफल अघि बढाइसकेको स्रोतको दाबी छ । ठाकुरनिकट स्रोतका अनुसार प्रधानमन्त्री ओलीकै सल्लाहमा ठाकुरले नेताद्वय सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्णलाई कार्यदलमा राखेका हुन् । कार्यदलका सदस्य शुक्ल र कर्ण दुवै पूर्वराजपा नेता हुन् । सरकार पक्षबाट एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, अर्थमन्त्री एवं पार्टी उपमहासचिव विष्णु पौडेल र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई कार्यदलमा छन् । कार्यदलका सदस्यबीच सोमबार बालुवाटारमै वार्ता भएको थियो । एमाले नेता नेम्वाङले जसपाका नेताहरूसँग सांसद चौधरीको रिहाइका विषयमा मात्रै छलफल भएको बताए । ‘उहाँहरूले चौधरीलाई रिहाइ गर्नुपर्ने मुद्दा उठाउनुभयो,’ उनले कान्तिपुरसँग भने, ‘हामी प्रधानमन्त्रीलाई भन्छौं, त्यसपछि के हुन्छ, टुंगोमा पुगौंला भन्यौं । अन्य विषयमा छलफल भएन ।’

जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले कार्यदल अपर्झट गठन भएको बताए । उनले कार्यदलमा कति सदस्य हुने यकिन भइनसकेको उल्लेख गर्दै त्यसलाई पूर्णता दिने बताए । सरकार पक्षका कार्यदल सदस्य नेम्वाङले सम्भावित सत्ता समीकरणका विषयमा कार्यदल गठन नभएको र प्रधानमन्त्री आफैंले सबैसँग सम्पर्क गरिरहेको दाबी गरे । ‘कहींकतै केही गर्नुपर्ने भयो भने ल है तपाईंहरू यसमा लाग्नुहोस् भन्नुहुन्छ, अहिले त्यस्तो केही भएको छैन,’ उनले थपे ।

कार्यदललाई लिएर अध्यक्ष यादव, भट्टराईसहितका नेताले विरोध गरेपछि सबै पक्षसँग छलफल गर्ने र कार्यदलमा थप सदस्यसमेत राख्ने सहमति जुटेको थियो । जसलाई जसपा नेता महतोले स्विकारे । ‘हामीले ओली, प्रचण्ड र देउवाको अनुहार हेरेर वार्ता गर्ने होइन । संविधान निर्माणका बखतदेखि हामीले उठाएका मुद्दालाई केन्द्रमा राखेर वार्ता गर्ने हो,’ उनले भने । ‘रेशम चौधरीसहित मधेस विद्रोहका क्रममा झूटा मुद्दा लगाएर जेलमा राखिएका कार्यकर्ताको रिहाइ र संविधान संशोधनको एजेन्डा जसले पूरा गर्छ उसैको पक्षमा हामी जाने हो ।’

ओली नेतृत्वकै सरकारले चौधरीको रिहाइ र संविधान संशोधन गर्ने सुनिश्चित आधार दिए जसपाभित्रको पूर्वराजपा धारले यही सरकारमा सहभागी हुन सक्ने संकेत दिएको छ । ठाकुरले एकपक्षीय रूपमा कार्यदल बनाएर सरकारसँग संवाद अघि बढाएपछि पार्टीभित्र त्यसको चर्को विरोध मात्रै भएको छैन, सम्भावित पार्टी विभाजनको खतरासमेत बढाएको कतिपय नेताहरू बताउँछन् । भट्टराईनिकट नेता गंगा श्रेष्ठका अनुसार प्रधानमन्त्री ओलीले त्यस्तो प्रयत्न विगतदेखि नै गर्दै आए पनि पार्टी नै विभाजन हुने अवस्था आउँदैन । ‘ओलीको प्रयास जारी छ । विभाजनका लागि कहिले अध्यादेश ल्याउने, कहिले मन्त्री अफर गर्ने काम विगतदेखि नै गर्दै आएका हुन् । तर सम्हालिएर पार्टीलाई एकढिक्का बनाएर लैजान्छौं,’ उनले भने, ‘जसपा ओलीविरुद्ध सबैभन्दा अघि सडकमा निस्केको पार्टी हो । त्यसैले ओलीको गठबन्धनमा यो सरकार सामेल हुने कुरै आउँदैन ।’

राजपा र समाजवादी पार्टी गत वैशाख १० गते एकीकरण भई जनता समाजवादी पार्टी बनेको हो । समाजवादी पार्टी विभाजनलाई लक्ष्य गरेर ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि रातारात राजपा र समाजवादी एकीकरणमा जोडिएका थिए । तत्कालीन समाजवादीकी उपाध्यक्ष रेणु यादव नेतृत्वमा असन्तुष्ट सांसदहरू मो. इस्तियाक राई, प्रदीप यादव, उमाशंकर अरगरिया, कलुदेवी विश्वकर्मालगायतले छुट्टै दल गठनको प्रयास गरेका थिए । अहिले पनि उनीहरू प्रधानमन्त्री ओलीसँगकै सम्पर्कमा रहँदै आएको नेताहरू दाबी गर्छन् । महतोले पार्टी फुट्ने हल्ला बकबास मात्रै भएको बताए ।

जसपाभित्रका एकथरी नेताहरूको मत भने निर्वाचनको पक्षमा देखिएको छ । पार्टीलाई बचाउन सत्ता गठबन्धनमा जान नहुने बरु निर्वाचनमा जाने निर्णय लिनुपर्ने भनाइ उनीहरूको छ । केन्द्रीय कार्यकारिणी समितिका सदस्य मनीष सुमनले अहिलेका जटिलताको विकल्प नै निर्वाचन हुने बताए । ‘समस्याको निकास चुनाव हो । ओली नेतृत्वकै गठबन्धनमा जाने कल्पना जसपाले गरेको छैन । ओलीलाई पनि समर्थन नगर्ने र अर्को गठबन्धनमा नजाने निर्णय पार्टीले गर्नुपर्छ,’ उनले भने, ‘अबको संसद् धेरै गन्जागोल हुने देखिएको छ । सांसद खरिदबिक्री चल्न सक्छ । संसद्लाई अझै दूषित बनाउने काम हुन सक्छ । यो संसद् सहज रूपमा अघि बढ्न सक्दैन । सर्वदलीय सरकार बनाएर निर्वाचनमा जानुपर्छ ।’

पार्टी एकीकरणपछि जसपाको संसदीय दलको पहिलो संयुक्त बैठक बसेको हो । यसअघि बैठक छुट्टाछुट्टै संसदीय दलमा बस्दै आएका थिए । अर्को संसदीय दलको नेता नचुनिँदासम्म ज्येष्ठ सदस्यताको हैसियतले ठाकुरले बैठकको अध्यक्षता गर्ने निर्णय भएको छ ।

आजको कान्तिपुरमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..