प्रतिनिधि सभा विघटनविरुद्ध निरन्तर आन्दोलनमा रहेको कांग्रेसले सोमवार ७७ वटै जिल्लामा व्यापक विरोध प्रदर्शन गरेको थियो । देउवाले विग्यतिमार्फत प्रदर्शनमा सहभागी सबैलाई धन्यवाद तथा आभार व्यक्त गरेका हुन् ।
‘संसद विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ७७ वटै जिल्लाहरुमा नेपाली कांग्रेस जिल्ला कार्यसमितिहरुले आज आयोजना गरेको विरोध प्रदर्शन व्यापक सहभागिता साथ सफलतापूर्वक सम्पन्न भएको छ,’ देउवाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रदर्शनले के.पी. शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको सरकारले गरेको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक, सर्वसत्तावाद उन्मुख कदम एवं मुलुकमा व्याप्त भ्रष्टाचार, कोभिड—१९ नियन्त्रण र व्यवस्थापनमा सरकारको असफलता र कुशासनको विरुद्ध जनभावना अभिब्यक्त गरेको छ ।’
विज्ञप्तिमा थप उल्लेख गरिएको छ – ‘प्रदर्शनमा सहभागी सबै दिदीबहिनी—दाजुभाइमा नेपाली कांग्रेस पार्टीका तर्फबाट आभार प्रकट गर्दछु । प्रदर्शन सफल बनाउन अहोरात्र खट्नु हुने जिल्ला कार्यसमितिका साथीहरु, भ्रातृ एवं शुभेच्छुक संघका साथीहरू संगै पार्टीको सबै तहका आदरणीय साथीहरू, पार्टीका शुभचिन्तक र शुभेच्छुकहरु तथा सामाजिक संजाल मार्फत भूमिका निर्वाह गर्ने विशेषतः युवाहरू सबैमा बधाई ज्ञापन गर्दछु ।’

