सेयर बजारमा दैनिक आठ अर्बभन्दा बढीको कारोबार, लगानीकर्ता भन्छन्- १५ अर्ब पुग्छ

द्वारा प्रकाशित गरिएको हो |
२०७७ माघ २४, शनिबार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट
फाईल तस्विर

काठमाडौं। सेयर बजारमा पछिल्लो समय दैनिक आठ अर्ब रूपैयाँ बराबरको कारोबार हुन थालेको छ। बजार बढेको र घटेको दुवै दिन बजारमा आठ अर्ब रूपैयाँको हाराहारीमा कारोबार हुन थालेको हो।

नेप्सेमा सेयर कारोबार भएका पछिल्ला १० दिनको कारोबार रकम तुलना गर्दा औसतमा आठ अर्ब रूपैयाँभन्दा बढीको कारोबार भएको देखिएको छ। यही माघ ११ गतेदेखि २२ गतेसम्ममा जम्मा दुई दिनमात्रै आठ अर्ब रूपैयाँभन्दा कमको कारोबार भएको छ।

सेयर लगानीकर्ता संघका उपाध्यक्ष ताराप्रसाद फुलेलले लगानीकर्ताको संख्या बढ्दै गएसँगै बजारमा कारोबारको रकम उकालो लागेको बताए। उनका अनुसार लकडाउन र निषेधाज्ञायता बजारमा नयाँ लगानीकर्ताको संख्या बढेको छ।

सीडीएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार हिजोसम्ममा नेपालमा २७ लाख २१ हजारभन्दा बढीले डिम्याट अकाउन्ट खोलेका छन्। तीमध्ये सक्रिय लगानीकर्ताको संख्या साढे चार लाखको हाराहारीमा रहेको नेप्सेले जानकारी दिएको छ।

नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले पछिल्लो एक वर्षमा कम्तीमा एक पटक सेयर कारोबार गर्नेहरू सक्रिय लगानीकर्ताको संख्यामा गणना हुने बताए। उनले भने, “केही समयअघि यस्ता लगानीकर्ताको संख्या तीन लाखभन्दा कम थियो। अहिले बढेका छन्।”

यसैगरी, हाल अनलाइन युजर र पासवर्ड लिनेहरूको संख्या तीन लाख पुगिसकेको छ। यसरी पछिल्लो समय सक्रिय सेयर लगानीकर्ता र अनलाइन प्रयोगकर्ताको संख्या बढेसँगै कारोबार रकम बढेको नेप्सेको भनाइ छ।

यससँगै, लकडाउन र निषेधाज्ञामा सबै क्षेत्र बन्द हुँदा पुँजी परिचालनको क्षेत्र सेयर बजारमात्रै खुला भएको अवस्थामा धेरै नयाँ लगानीकर्ताले र पुरानै लगानीकर्ताले पनि सेयर बजारमा लगानी खन्याएका थिए।

केही महिनाअघि मात्रै पनि नेप्सेमा दैनिक तीन/चार अर्ब रूपैयाँको हाराहारीमा कारोबार हुन्थ्यो। यही वर्षको कात्तिक २४ गतेअघि दैनिक तीन अर्ब रूपैयाँभन्दा बढीको कारोबार नै मुस्किल हुन्थ्यो।

तर, त्यसयता निरन्तर बढ्दै चार/पाँच अर्ब र छ/सात अर्बको सेयर कारोबार हुँदै यतिबेला दैनिक आठ/नौ अर्बको कारोबार हुन थालेको हो। सेयर लगानीकर्ता हरी ढकालले अहिलेको कारोबार रकम बढेर दैनिक १५ अर्ब रूपैयाँ बराबर पुग्ने बताए।

“आगामी नयाँ वर्षसम्ममा दैनिक १५ अर्बभन्दा माथिको कारोबार हुन्छ। त्यो भनेको अहिलेको भन्दा छ/सात अर्ब रूपैयाँ बढी हो,” उनले भने। बुलिस ट्रेन्डको बजारमा ट्रेडरको संख्या धेरै हुने भएकाले पनि कारोबार रकम बढेको उनले बताए।

यससँगै बजारमा अत्यधिक तरलता हुँदा बैंकहरूले सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउँदै आएका छन्। जसको फाइदा लिँदै लगानीकर्ताहरूले सस्तोमा ऋण लिएर बजारमा लगानी गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..