काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षले आमहडताल पूर्ण रूपमा सफल भएको बताएको छ ।केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले बिहीबार साँझ प्रेस वक्तव्य जारी गर्दै आमहडताल सफल भएको भन्दै आमहड्ताल
सफल बनाउन जनसमर्थन, सद्भाव, सहभागिता र ऐक्यबद्धताका लागि जनसमुदायलाई धन्यवाद र आभार व्यक्त गरेका छन् ।
श्रेष्ठले आमहडतालका क्रममा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यसहित सयौँ नेता–कार्यकर्तालाई गिरफ्तार गरिएको र शान्तिपूर्ण आमहडतालमा दमन गरिएको भन्दै भर्त्सना गरेका छन् ।
संयोजक श्रेष्ठले आमहडताल असफल पार्न सरकारले नियोजित मुठभेड निम्त्याउन खोजेको आरोप लगाउदै त्यसलाई सचेत प्रयत्नमार्फत विफल पारिएको दाबी गरेका छन् ।
उनले भनेका छन्, ‘शान्तिपूर्ण रूपमा आयोजित आमहडताललाई बदनाम गर्न, असफल पार्न र नियोजित रूपमा मुठभेड निम्त्याउन सरकारले गरेको हर्कतलाई हाम्रो पार्टी र जनताको सचेत प्रयत्नमार्फत असफल पारिएको छ । गृह मन्त्रालयका नाममा वक्तव्य जारी गर्दै जनतालाई आपसमा भिडाउने दुराशययुक्त प्रयत्नको बाबजुद आजको आमहडताल शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ ।’
संयोजक श्रेष्ठले २८ माघमा काठमाडौंमा हुने बृहत् जनप्रदर्शनमा सक्रिय समर्थन र सहभागिताका लागि पनि अपिल गरेका छन् ।

