मान्छे देखाउने होड !

द्वारा प्रकाशित गरिएको हो |
२०७७ माघ १८, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट
फाईल तस्विर

काठमाडौं । प्रतिनिधिसभा विघटनपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई समूहमा विभाजित छ । त्यसयता दुवै समूहले छुट्टाछुट्टै भेला, सभा गर्दै आएका छन् ।

काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा सभा गर्न नेकपाका दुवै समूह सक्रिय छन् । दुवै समूहले आफ्नो पक्षमा माहोल सिर्जना गर्ने प्रयास गरिरहेका छन् । सभामा सहभागीको संख्यालाई विशेष महत्व दिइएको नेताहरुका भाषण र क्रियाकलापले दर्शाउँछ ।

नेकपा प्रचण्ड–नेपाल समूहले शनिबार कैलालीको धनगढीमा विरोधसभा गर्‍यो । सभामा ठूलो संख्यामा मानिस सहभागी भए । नेकपाका नेता विष्णु रिजालले सो सभाको २२ सेकेन्डको छोटो भिडियो सामाजिक सञ्जाल ट्वीटरमा पोस्ट गरेका छन् । जसमा ठूलो संख्यामा मानिस उपस्थित भएको देखाइएको छ ।

‘‘नेकपाका सुदूरपश्चिम इन्चार्ज तथा प्रखर राष्ट्रवादी नेता डा. भीम रावलले फेरि एकपटक आफूलाई अब्बल नेता, कुशल संयोजनकर्ता र जनतामा लोकप्रिय व्यक्तित्वका रूपमा प्रमाणित गर्नुभएको छ,’’ सो पोस्टमा रिजालले लेखेका छन् ।

यस्तै, नेता भीम रावलले पनि ‘ऐतिहासिक बृहत् विरोध जनप्रदर्शन र जनसभा’ भन्दै सहभागीलाई धन्यवाद दिएका छन् । सभामा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाललगायतका नेताहरुले बोलेका थिए । नेता नेपालको आधिकारिक फेसबुक पेजमा ‘जागेको सुदूरपश्चिम’ भन्दै सो सभाका तस्बिरहरु पोस्ट गरिएको छ । प्रचण्डको आधिकारिक फेसबुक पेजमा पनि सभाका तस्बिरहरु पोस्ट गरिएको छ । साथै, दुवै अध्यक्षका फेसबुक पेजमा भिडियो पनि राखिएको छ ।

भेलालाई सम्बोधन गर्नेक्रममा प्रचण्ड र नेपाल दुवैजनाले प्रतिनिधिसभा विघटनको कदम असंवैधानिक भएको बताए । आफूहरु नै आधिकारिक नेकपा भएको जिकिर उनीहरुले गरे ।

प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओली पनि शनिबार चितवन पुगेका थिए । भरतपुरमा आयोजित सभालाई उनले सम्बोधन गरे । उक्त सभाको तस्बिर र भिडियो पनि सहभागीको संख्या दर्शाउने गरी महत्वका साथ पोस्ट गरिएको छ ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले उक्त कार्यक्रमको तस्बिर ट्वीटरमा पोस्ट गर्दै लेखेका छन्, ‘‘चितवनमा प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा बादलको सम्बोधन सुन्न जनसागर उर्लियो ! प्रधानमन्त्रीले भन्नुभयो– अब सच्चा प्रतिनिधि छान्नुहोस् ।’’

सभामा ओलीले नेकपा फुटेको नभई केही मान्छे मात्रै बाहिरिएको जिकिर गरेका थिए । ‘‘सभाको चारैतिर हेर्नुस् । दायाँ हेनुर्स्, बायाँ हेर्नुस् । यताकाले उताकोलाई हेर्नुस्,’’ उपस्थितको संख्यातर्फ लक्षित गर्दै उनले भनेका थिए ।

प्रचण्ड–नेपाल समूहले शुक्रबार विराटनगरमा विरोधसभा गरेको थियो । सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता झलनाथ खनालले आफ्नो समूहसित बहुमत भएको दाबी गरे । उनले ‘टेलिभिजनबाट बोलेर नभई सडकमा आएर जनमत हेर्न’ ओली समूहलाई भनेका थिए ।

यसअघि, काठमाडौंमा गरिएका प्रदर्शनहरुमा पनि ठूलो संख्यामा मानिस भेला गराइएको थियो । प्रचण्ड–नेपाल समूहले ‘सडकमै बहुमत देखिने’ जिकिर गर्दै आएको छ । ओली समूहले भने प्रथम अध्यक्ष भएको पार्टी र उसका गतिविधि नै आधिकारिक हुने दाबी गर्दै आएको छ ।

मुलुकमा पछिल्लो समय कोरोना संक्रमण र कोरोनाका कारण हुने मृत्युदरमा कमी आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाउँछ । यद्यपि, निरन्तर सावधानी अपनाउनुपर्ने जनस्वास्थ्यविद्को सुझाव छ ।

जनस्वास्थ्यविद् समीरमणि दीक्षितले यही जनवरी २३ तारिखमा ट्वीटरमा लेखेका छन्, ‘‘ अबदेखि मास्क लगाउने, दूरी कायम राख्नुको महत्वजस्ता जनस्वास्थ्यका मापदण्ड पालनाबारे अनुरोध गर्न छाडुँजस्तो लाग्यो । प्रदर्शनहरु भइरहेकै छन् । रात्रि क्लबमा भिडभाड झनै बढेका छन् । अब खोपलाई द्रुतगतिमा अघि सारौँ र आश गरौँ कि धेरैभन्दा धेरै जोखिम समूहमा पुग्छ ।’’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..