एनटीएनसीले भने मुख्य आम्दानी नै एक्याप भएकाले फेरि पनि आफू एक्लैले त्यसको व्यवस्थापन गर्न पाउनुपर्ने मागसहित लबिइङ गरिरहेको छ । एनटीएनसीका सदस्य सचिव शरद अधिकारी भने तीन दशकदेखि व्यवस्थापन गर्दै आएको र व्यवस्थापकीय क्षमताका कारण फेरि पनि आफूहरूलाई दिनुपर्ने बताउँछन् । ‘कति अवधि म्याद थप गर्ने भन्ने निर्णय सरकारले गर्ने हो,’ अधिकारीले भने, ‘त्यसको प्रक्रिया अघि बढेको छ ।’
वन तथा वातावरण मन्त्रालयका प्रवक्ता सहसचिव प्रकाश लम्सालले एक्यापको प्रस्ताव राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा छलफलकै क्रममा रहेको जानकारी दिए । विभाग स्रोतका अनुसार एनटीएनसीले भने ५ वर्ष म्याद थप गर्न माग गरेको छ । म्याद थपको प्रस्ताव वन मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा पेस हुन्छ ।
काठमाडौंको खुमलटारमा मुख्यालय रहेको एनटीएनसीले २०४३ सालदेखि एक्यापको व्यवस्थापन गर्दै आएको छ । एनटीएनसीअन्तर्गत अहिले एक्याप, गोरखामा एमक्याप, दोलखा–सिन्धुपाल्चोक र रामेछापमा जिक्याप र चितवनमा जैविक विविधता संरक्षण केन्द्र (सौराहा), बर्दिया, ठाकुरद्वारामा बर्दिया संरक्षण र कञ्चनपुरमा शुक्लाफाँटा संरक्षण कार्यक्रमका कार्यालय र कर्मचारी छन् । सन् २०१९ मा एक्यापले पर्यटक शुल्कबाट मात्र करिब ३९ करोड १० लाख रुपैयाँ राजस्व संकलन गरेको थियो । गत वर्ष भने एक्याप पनि कोभिड महामारीको मारमा परेको थियो । पर्यटक शुल्कबाहेक पनि एक्यापले आम्दानी गर्छ ।
एक्यापको व्यवस्थापन जिम्मा समुदायलाई हस्तान्तरण गर्ने कुरा उठ्न थालेको डेढ दशकभन्दा बढी भइसकेको छ । विभिन्न बहानामा सरकारले हस्तान्तरणमा ढिलाइ गर्दै आएको स्थानीयको गुनासो छ । हस्तान्तरण गर्न आयोजना सञ्चालनसम्बन्धी नयाँ नियमावली र व्यवस्थापनको ढाँचा आवश्यक पर्छ जसका लागि संघको वन तथा वातावरण मन्त्रालयले ढिलाइ गरिरहेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ बमोजिम संरक्षण क्षेत्र व्यवस्थापन नियमावली २०५३ र संरक्षण क्षेत्र व्यवस्थापन निर्देशिका २०५६ अनुसार एनटीएनसीले एक्यापको व्यवस्थापन गर्दै आएको छ ।

