प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेको सोमबार ठ्याक्कै एक महिना पुग्यो। पार्टीको आन्तरिक विवाद चर्किएपछि गत पुस ५ गते आइतबार प्रधानमन्त्री ओलीले संसद् विघटनको सिफारिस गरेका थिए।
संसद् विघटन भएको ठिक एक महिनापछि अर्थात सोमबार बिहान पूर्वसभामुख दमननाथ ढुङ्गानाले एक ट्विट गरे। उनको ट्विटको आशय थियो – अवैधानिक तवरबाट विभिन्न निर्णय लिँदै आएका प्रधानमन्त्री ओलीलाई संसद् विघटन भएको एक महिना बितिसक्दा पनि किन कामचलाउ घोषणा नगरिएको?
उनले लेखेका छन् – ‘असंवैधानिकताको वर्तमान क्रम कहिलेसम्म? पुस ५ गतेको संवैधानिक परिषद्को निर्णय अवैधानिक, प्रतिनिधिसभा विघटन अवैधानिक तथा सरकार पनि अवैधानिक। प्रधानमन्त्रीको राजीनामा लिई कामचलाउ बनाउन विज्ञप्ती जारी गर्न राष्ट्रपति कार्यालयबाट किन ढिलाई?
उनले संविधानअनुसार प्रतिनिधि सभा नरहेको अवस्थामा प्रधानमन्त्री स्वतः पदमुक्त हुने भएकाले राष्ट्रपति कार्यालयले ओलीलाई कामचलाउ प्रधानमन्त्री भनेर घोषणा गर्नुपर्नेमा जोड दिएका हुन्।
संविधानकको धारा ७७ को उपधारा १ मा प्रधानमन्त्रीको पद रिक्त हुने अवस्था भनेर विभिन्न व्यवस्था गरिएका छन्। जसअन्तर्गत नीजले राष्ट्रपति समक्ष लिखित राजीनामा दिएमा, धारा १०० बमोजिम विश्वासको प्रस्ताव पारित हुन नसकेमा वा नीजको विरुद्ध अविश्वासको प्रस्ताव पारित भएमा, नीज प्रतिनिधि सभाको सदस्य नरहेमा र नीजको मृत्यु भएमा प्रधानमन्त्री पद स्वतः रिक्त हुने उक्त धारामा व्यवस्था गरिएको छ।
अब प्रतिनिधि सभा नै नरहेको अवस्थामा प्रतिनिधि सभा सदस्य रहने कुरै भएन। संविधानको धारा ७७ को १ (ग) अनुसार प्रधानमन्त्री प्रतिनिधि सभाको सदस्य नरहेको अवस्थामा प्रधानमन्त्री पद स्वतः रिक्त हुने व्यवस्था छ।

