लिबियामा बाढी ३ हजारको मृत्यु, १० हजार बेपत्ता

द्वारा प्रकाशित गरिएको हो |
२०८० भाद्र २६, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट
फाईल तस्विर

एक लाख मानिसको बसोबास रहेको डेर्ना सहरमा दुई ठूला बाँध र चारवटा पुल भत्किएपछि सिंगो सहर जलमग्न भएको छ ।

काठमाडौँ — लिबियामा आएको बाढीका कारण ३ हजारको मृत्यु भएको बताइएको छ । बाढीबाट बढी प्रभावित भएको डेर्ना सहरमा मात्रै १ हजारभन्दा धेरै मानिसको शव भेटिएको त्यहाँका सरकारी अधिकारीले बताएका छन् ।

साथै १० हजार मानिस बेपत्ता भएको बीबीसीको समाचारमा उल्लेख छ । डानिएल आँधीसँगै लिबियामा सोमबार आएको बाढीले ठूलो मात्रामा भौतिक संरचना ध्वस्त पारेको छ ।

दुईवटा ठूला बाँध र चारवटा पुल भत्किँदा एक लाख मानिसको बसोबास रहेको डेर्ना सहरको अधिकांश भूभाग जलमग्न भएको छ । लिबियाको घटनाप्रति अन्तर्राष्ट्रिय समुदायले पनि चिन्ता व्यक्त गरेका छन् । यसैबीच युनिसेफले बाढीपछि त्यहाँ उत्पन्न संकटलाई लक्षित गर्दै औषधि, लत्ताकपडासहित तत्कालका लागि आवश्यक वस्तु पठाएको जनाएको छ ।

आँधीले पूर्वी सहर बेंगाजी, सौसा र अल मार्ज पनि नराम्ररी प्रभावित बनेका छन् । आँधी प्रभावित सहरका थुप्रै घर भत्किनुका साथै मानिसहरू पानीका बीच कड्किरहेका छन् ।

पूर्वी लिबियाको स्वघोषित सरकारका प्रधानमन्त्री ओसामा हमादले भने यसअघि नै २ हजारको मृत्यु भएको बताएका थिए । जुन संख्या अझै बढ्नसक्ने उनको आकलन थियो । पछिल्लो अपडेट अनुसार मृत्यु हुनेको संख्या ३ हजार पुगेको सरकारी अधिकारीलाई उद्धृत गर्दै विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यसैबीच उद्धारका लागि पनि कठिनाइ भएको बताइएको छ । प्रभावित क्षेत्रमा उद्धारका लागि तालिमप्राप्त उद्धार टोली पनि उपलब्ध नभएको बीबीसीको समाचारमा उल्लेख छ ।

पछिल्लो समय त्रिपोलीस्थित प्रशासनले १४ टन मेडिकल सामग्री र ८० भन्दा धेरै चिकित्सक र प्यारामेडिकसहितको विमान बाढी प्रभावित क्षेत्रमा पठाएको छ । लिबियाको प्राकृतिक विपदप्रति दु:ख व्यक्त गर्दै अमेरिका, इजिप्ट, जर्मनी, इरान, इटाली, कतार र टर्कीले लिबियामा तत्काल सहायता पठाउन आफूहरू तयार रहेको जनाएका छन् ।

बेंघाजीस्थित रेडक्रिसेन्टका प्रमुख काइस फाकेरीले डेर्नामा पानीको सतह ३ मिटर (१० फिट) सम्म बढेको बताएका छन् । केही विज्ञहरूले भने सोमबार डेर्ना सहरमा ३ करोड घन स्क्वायर मिटरभन्दा बढी पानी सहरमा परेको थियो ।

बाढीसँगै सहरमा बिजुली र इन्टरनेटको लाइन काटिएको छ । घटनामा मृत्यु हुने र हराउनेहरूको संख्या यकिन नभए पनि मृतकको संख्या बढ्नसक्ने सरकारी अधिकारीहरूले जनाएका छन् ।

कतिपय प्रमाणित नभएका भिडियो फुटेजहरू सामाजिक सञ्जालमा सार्वजनिक भइरहेका छन् । जहाँ बाढीले मानिस बगाउँदै गरेको दृश्य र केही सवारी चालकहरू कारको छतमा बसेर उद्धारको पर्खाइ गरिरहेको दृश्य देखिन्छ ।

३ दशकसम्म शासन गरेका मुअम्मर गद्दाफीको २०११ मा हत्या गरिएपछि २०१४ देखि लिबिया दुई प्रशासनिक क्षेत्रमा विभाजित भएको थियो । सोमबारको प्राकृतिक विपदसँगै दुबै सरकारले तीन दिनको शोक मनाउने निर्णय गरेका छन् ।

प्रकाशित : भाद्र २६, २०८० १८:४८

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

एक किलो सुनसहित तीन पक्राउ

एक किलो सुनसहित तीन पक्राउ

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट प्रहरीले करिब एक किलो सुनसहित तीन जनालाई पक्राउ गरेको छ । हिमालय एयरलाइन्सको उडानबाट दुबईबाट आएका काभ्रेका बाबुलाल दोङसहित तीन..