सर्तसहित रात्रिकालीन व्यवसाय खोल्न अनुमति

द्वारा प्रकाशित गरिएको हो |
२०७७ मंसिर ३०, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट
फाईल तस्विर

काठमाडौँ — झन्डै नौ महिनादेखि बन्द रात्रिकालीन व्यवसाय सर्तसहित सञ्चालन गर्न सरकारले अनुमति दिएको छ । विश्वव्यापी कोरोना महामारीको असर नेपालमा पनि देखिन थालेपछि २०७६ चैत ११ गतेबाट लकडाउन घोषणा गरिएको थियो ।

त्यसपछि बन्द रहेका रात्रिकालीन व्यवसायमा (होटल/रेस्टुराँ, डान्स/दोहोरी/क्लब, लाउन्जबार, डिस्कोथेक, बर्गरसपलगायत) कुल क्षमताको ५० प्रतिशत मानिस मात्रै राख्न पाउने गरी सञ्चालन अनुमति दिइएको हो ।

हरेक वर्ष डिसेम्बर २५ मा नेपालसहित विश्वभर इसाई धर्मावलम्बीले क्रिसमस मनाउँछन् । यस दिन उपत्यकाका ठमेल, दरबारमार्ग, पाटनसहित प्रमुख सहर तथा पर्यटकीय क्षेत्र आसपासका होटल/रेस्टुराँ, डान्सबारलगायतमा आन्तरिक र बाह्य पर्यटकको घुइँचो हुन्छ । त्यस्तै, अंग्रेजी नयाँ वर्ष आउन करिब दुई साता मात्रै बाँकी छ । यसलाई समेत मध्यनजर गर्दै आवश्यक सर्त र बन्देजभित्र रहेर रात्रि व्यवसाय सञ्चालनका लागि सरकारले स्वीकृति दिएको हो । यस्ता व्यवसाय सञ्चालनका लागि अनुमति माग्दै मंसिर १७ गते व्यवसायी र कर्मचारीले काठमाडौंमा प्रदर्शनसमेत गरेका थिए ।

व्यवसाय सञ्चालनका क्रममा सर्त उल्लंघन गरेको पाइए स्थानीय प्रशासनले व्यवसाय सञ्चालनमा रोक लगाउनुका साथै संक्रामक रोग ऐन २०२० अनुसार सञ्चालकलाई कैद र सजायसमेत गर्न सक्ने छ । यसका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘रात्रिकालीन पर्यटन व्यवसाय सञ्चालनसम्बन्धी स्वास्थ्य सुरक्षा मापदण्ड–२०७७’ तय गरेको छ । मापदण्डको १२ नम्बर बुँदामा सर्त उल्लंघन गरे प्रचलित कानुनअनुसार क्षतिपूर्ति भराउने गरी आदेश दिन सक्नेसमेत उल्लेख छ ।

पर्यटन मन्त्रालयको मापदण्डअनुसार रात्रि व्यवसाय सञ्चालनका लागि जिल्लाभित्र कोरोना महामारीको अवस्था र जोखिमलाई ध्यानमा राखेर कार्यान्वयन गर्न/गराउन भन्दै गृह मन्त्रालयले सोमबार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ । ‘मापदण्डअनुसार रात्रिकालीन पर्यटन व्यवसाय जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले समय/स्थान तोकेर वा अन्य कुनै व्यवस्था मिलाएर सञ्चालन गर्न अनुमति दिन सक्ने र मापदण्डको पालना भए/नभएको सम्बन्धमा सम्बन्धित स्थानीय प्रशासनले अनुगमन गर्ने भन्ने व्यवस्था भएकाले यस मन्त्रालयबाट मापदण्डअनुसार आवश्यक कार्यार्थ आदेशअनुसार अनुरोध छ,’ परिपत्रमा भनिएको छ ।

गत मंसिर १० गतेको मन्त्रिपरिषद् बैठकले चलचित्र प्रदर्शन तथा बढी भीडभाड हुने जात्रा/महोत्सवलगायत बाहेकका क्षेत्र सञ्चालन गर्न दिने/नदिनेसम्बन्धी निर्णय गर्ने र आवश्यक मापदण्ड बनाउने अधिकार सम्बन्धित मन्त्रालयलाई दिएको थियो । मन्त्रिपरिषद्को सोही निर्णयका आधारमा पर्यटन मन्त्रालयले रात्रि व्यवसाय सञ्चालनसम्बन्धी मापदण्ड बनाएर गएको शुक्रबार गृहमा पठाएको थियो ।

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले पर्यटन मन्त्रालयबाट बनेको मापदण्डअनुसार नै सोमबार प्रशासनलाई सर्त र बन्देज पालना गर्ने गरी रात्रि व्यवसाय सञ्चालन गर्न दिन परिपत्र गरिएको बताए । व्यवसाय सञ्चालनको समयावधि, अनुगमन, नियमन तथा कारबाहीसम्बन्धी निर्णय गर्ने जिम्मा जिल्ला प्रशासन कार्यालयलाई तोकिएको छ । काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जीवन दुलालले केही दिनभित्रै जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठक बसेर रात्रि व्यवसाय सञ्चालनबारे समयसीमा निर्धारणलगायत निर्णय गरिने बताए । मापदण्डमा रात्रि व्यवसाय सञ्चालन गर्नुअघि सरकारबाट जारी सबै स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्नुपर्ने उल्लेख छ ।

बाहिरबाट आउने ग्राहक तथा कर्मचारीको अनिवार्य ज्वरोमापन गर्नुपर्ने, रुघाखोकी/ज्वरो, श्वासप्रश्वासमा समस्या तथा कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण देखिए प्रवेश निषेध गर्नुपर्नेछ । मापदण्डमा ग्राहक तथा सेवाग्राही बसेको स्थान ४/४ घण्टामा सरसफाइ/डिसइन्फेक्ट गर्नुपर्ने भनिएको छ । लकडाउन घोषणापछि देशभर रात्रि व्यवसायसँग आबद्ध ५० हजारभन्दा बढी कर्मचारीले रोजगारी गुमाउनुका साथै व्यवसायीले ठूलो आर्थिक नोक्सानी ब्यहोर्नुपरेको पर्यटन मन्त्रालयले जारी गरेको मापदण्डमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..